शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले सिफारिस सूचीमा नपरेका गौतमलाई उम्मेदवार बनाउने निर्णय गर्दै रुकुम पूर्वबाट उठाउने टुंगो लगाएको छ।
काठमाडौँ — आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले रुकुम पूर्वबाट लीलामणि गौतमलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उम्मेदवारीको दिन नजिकिँदै जाँदा हिजो आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीले गौतमको उम्मेदवारी टुंग्याएका हुन्।
शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रत्यक्षतर्फका १४० जना उम्मेदवारको टुंगो लगाउँदा रुकुम पूर्वसहित २५ क्षेत्र बाँकी रहेकामा ती निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाउने क्रममा रुकुम पूर्व पनि परेको र गौतमको नाम तय भएको एमाले केन्द्रीय सदस्य तथा रुकुम पूर्व जिल्ला इन्चार्ज खेममान खड्काले जानकारी दिए।
एमालेले यसअघि खेममान खड्का, आशा स्वर्णकार, चिन्तामणि दाहाल, मोहनभक्त बुढामगर र गोपालप्रसाद सुनारको नाम उम्मेदवारका लागि सिफारिस गरेको भए पनि सो सूचीभन्दा बाहिरबाट गौतमलाई अघि सार्ने निर्णय गरिएको हो।
एउटा मात्रै निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट यसका संयोजक पुष्पकमल दाहाल आउने टुंगो यसअघि नै लागिसकेको छ भने कांग्रेसले पनि पूर्व सांसद कुसुमदेवी थापालाई उम्मेदवारका रूपमा अघि सारेको छ।
