पश्चिम नवलपरासी क्षेत्र नम्बर २ बाट उनको एकल नाम सिफारिस भएको थियो।
नवलपरासी — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पश्चिम नवलपरासीमा बागलुङका देवेन्द्र पौडेललाई उम्मेदवार बनाएको छ। पश्चिम नवलपरासी क्षेत्र नम्बर २ बाट उनको एकल नाम सिफारिस भएको थियो। त्यसैका आधारमा आफू उम्मेदवार बनेको पौडेलले बताए।
पौडेलले भने, 'म माओवादी द्वन्द्वकालमा अवध प्रदेशको इन्चार्ज हुँदा यहाँका सबै ठाउँ घुमेको छु, काम गरेको छु, समस्या बुझेको छु। मैले बागलुङ क्षेत्र नम्बर २ बाट दुई पटक सांसद जितेको हुँ। यसपटक त्यहाँ युवा साथीहरूलाई अवसर दिने वाचा गरेकाले बागलुङ छोडेँ।'
त्यसैगरी क्षेत्र नम्बर १ मा नेकपाले सिन्धु बुढाथोकी जलेशालाई उम्मेदवार बनाएको छ। २०७० सालमा नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य भइसकेकी जलेशा माधवकुमार नेपालसँगै नेकपामा गएकी हुन्। बर्दघाट निवासी जलेशा कलाकारसमेत हुन्।
