दलहरुले धमाधम उम्मेदवारको टुंगो लगाउँदा जिल्लामा चुनावी माहोल तात्न थालेको छ।
परासी — प्रतिनिधिसभा सदस्य निर्वाचन लागि एमालेले पश्चिम नवलपरासीका दुबै निर्वाचन क्षेत्रका उम्मेदवारको टुंगो लगाएको छ ।
एमालेसँगै नेपाली कम्युनिष्ट पार्टी र राप्रपाले पनि आफ्ना उम्मेदवार टुंग्याएका छन्। दलहरुले धमाधम उम्मेदवारको टुंगो लगाउँदा जिल्लामा चुनावी माहोल तात्न थालेको छ।
एमालेले क्षेत्र नम्बर–१ मा रामप्रसाद पाण्डे र २ मा भगौतीप्रसाद यादव (रुदल) लाई उम्मेदवार बनाएको छ । पाण्डे सुस्ता गाउँपालिकाका पूर्व अध्यक्ष हुन्। यादव भने जिल्ला समन्वय समिति प्रमुख हुन् । यादवले उम्मेदवारी मनोनयनकालागि समन्वय समितिबाट राजीनामा दिनुपर्ने छ।
जिल्लाबाट सिफारिस गरिए पनि एमालेबाट लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री बैजनाथ चौधरीले टिकट नपाएपछि पार्टीको एउटा समूह असन्तुष्ट देखिएको छ। एमाले महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट उपमहासचिवको उम्मेदवार बनेपछि चौधरीसित अध्यक्ष ओली खुसी थिएनन्। जसले गर्दा उम्मेदवारीबाट बञ्चित हुनु परेको पोखरेल समूहका नेताहरुको भनाई छ।
राप्रपाले पश्चिम नवलपरासी–२ मा पार्टीका उपाध्यक्ष धुव्रबहादुर प्रधानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यही क्षेत्रबाट गत प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रधान बिजयी भएका थिए। नेपाली कम्युनिष्ट पार्टीले पश्चिम नवलपरासी–२ मा देवेन्द्र पौडेललाई उम्मेदवार बनाएको छ। क्षेत्र नम्बर १ मा अझै उम्मेदवार तय गरिसकेको छैन । रास्वपाले उम्मेदवार टुंग्याएको छैन। कांग्रेसबाट उम्मेदवारबारे आइतबारसम्म निर्णय भएको छैन ।
