भाइरल ब्वाईको 'मिदी' सपना

‘सागर, बसन्ते, किस्ने…’ संवादबाट भाइरल बनेका नवराज रेग्मी यसपालि निर्वाचन प्रहरी बन्ने सपनासहित अघि बढेका छन् ।

माघ ३, २०८२

मनोज पौडेल

Viral Boy's 'Midi' Dream

What you should know

कपिलवस्तु — कहिलेकाहीँ सामान्य मोबाइल, केही सेकेन्डको भिडियो र अनायासै फुरेको एक वाक्यले कसैको जीवनको दिशा मोडिदिन्छ ।

नवराज रेग्मीका लागि पनि त्यस्तै भयो ।

‘सागर, बसन्ते, किस्ने…’ अर्थात्, सम्झिने नाम उही- नवराज । सामाजिक सञ्जालमा ‘भाइरल ब्वाई’ भनेर चिनिएका नवराज फेरि एकपटक चर्चामा छन् । यसपटक उनी टिकटकका लागि मात्र  होइन, निर्वाचन प्रहरी बन्ने सपनासहित अघि बढेका छन् ।

तीन वर्षअघि टिकटकमा भाइरल एउटा भिडियोले उनलाई लाखौंको नजरमा पुर्‍यायो । आज भने उही भाइरल पात्रले निर्वाचन प्रहरीका लागि आवेदन दर्ता गराइसकेका छन् । टिकटकमा राखिएको 'सागर, बसन्ते, किस्ने किन ड्राउँछस्, फेरि तेरो दाइ मिदी हुन पर्सि आवेदन दिन जाँदै छ क्या' भन्ने भिडियोले उनी फेरि युवामाझ ट्रेन्डिङ बनेका छन् । मुलुकभर यतिबेला निर्वाचन प्रहरी भर्ना अभियान चलिरहेको छ । 

कपिलवस्तुको वाणगंगा नगरपालिका-३, झुगागाउँका १९ वर्षे युवा हुन् नवराज । ०७९ वैशाखमा भएको स्थानीय निर्वाचनका बेला उनले म्यादी प्रहरी (अहिले निर्वाचन प्रहरी) को 'ड्रेस'मा बनाएको टिकटक एकाएक भाइरल बनेको थियो ।

त्यो भिडियोले उनलाई जति चिनायो, पीडादायी क्षण पनि गुजार्नुपर्‍यो । टिकटककै कारण उनी ९ दिन प्रहरी हिरासतमा बसेका थिए  ।

म्यादी प्रहरीमा भर्ना भएका मामाको पोसाक लगाएर उनले भिडियो बनाएका थिए । जहाँ उनले भनेका थिए, 'सागर, बसन्ते, किस्ने... सबहरू नड्रा क्या... तेरो दाइ मिदी भइसक्या छ नि त !' सँगै उनले अरु अमर्यादित भाषा पनि बोलेका थिए । शिष्ट भाषा नबोलेको, प्रहरीको मर्यादा नराखेको र धुम्रपान गर्न उक्साएको आरोपमा उनीविरुद्ध प्रहरीले सार्वजनिक अपराध र अभद्र व्यवहार मुद्दा चलाएको थियो ।

त्यतिबेला उनी १६ वर्षका थिए । 'टिकटकमा भाइरल हुनुपर्छ भन्ने लागेर भिडियो बनाएँ । तर त्यस्तो शब्द प्रयोग गर्न र भिडियो बनाउन हुन्न भन्ने ज्ञान पछि मात्रै भयो,' उनी त्यस घटनाप्रति पछुतो मान्छन् । ९ दिन प्रहरी हिरासतमा बस्नुपरेको र तीन महिना तारेख धाएको उनले बताए । अदालतबाट सफाइ पाएर निस्केपछि आफू सचेत भएको र धेरै ज्ञान पनि लिएको नवराज सुनाउँछन् ।

खासमा म्यादी प्रहरी भर्ना हुन नपाउँदाको उनको रहर रहेछ त्यो । किनकि त्यसबेला भर्ना हुन उनको उमेर पुगेको थिएन ।

उनले बिहीबार सदरमुकाम तौलिहवास्थित जिल्ला प्रहरी कार्यालयमा निर्वाचन प्रहरीका लागि आवेदन दिएका छन् । यहीबेला उही शैलीमा बनाइएको टिकटक भाइरल बनेको छ । 'अगाडिको प्रक्रियामा सफल हुन्छु हुँदैन थाहा छैन,' उनी हाँस्दै भन्छन्, 'आवेदन गर्न जाँदा पनि प्रहरीहरूले पनि चिन्नुभयो ।'

नवराज सामान्य परिवारका हुन् । उनीहरु ३ दाजुभाइ र ३ दिदीबहिनी छन् । दिदीबहिनीको बिहे भइसकेको छ । उनी माइलो हुन् । दाजु र भाइ अध्ययनका लागि काठमाडौं बस्छन् । 

गजेहडास्थित वाणगंगा मावि सिद्धिपुरबाट एसईई गरेका नवराज अहिले काठमाडौंस्थित मोर्गन इन्टरनेसनल कजेल, बसुन्धराबाट होटल म्यानेजमेन्ट (एचएम) मा कक्षा १२ अध्ययरत छन् ।

अध्ययनका लागि खर्च जुटाउन नवराजले राजधानीमा राइड सेयरिङ सेवा पनि दिए । एचएम अध्ययन गर्दा तीन महिना होटल याक एन्ड यतीमा ३ महिना इन्टर्नसिप गरे । 'इच्छा र रुचि त भ्लगिङ गर्ने हो । तर, पैसा नहुँदा आफ्नो रुचि पूरा गर्न सकेको छैन,' उनी भन्छन्, 'निर्वाचन प्रहरीमा भर्ना भएँ भने एउटा राम्रो मोबाइल र ल्यापटप किन्छु अनि कन्टेन्ट क्रिएटर बन्छु । भ्लग बनाउँछु ।'

टिकटकको केही सेकेन्डले उनलाई देशभर चिनायो । नवराज उही शैलीको भाइरल संवाद बोकेर फेरि राज्यकै सेवाका लागि आवेदन दिन पुगेका छन् । भर्ना भए भने यसपटक उधारो ड्रेस होइन, जिम्मेवारीसहित निर्वाचन प्रहरीको नयाँ ड्रेससहित उनी खटिनेछन् ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully