जिल्ला निर्वाचन कार्यालयका अनुसार पाल्पामा १ लाख १ हजार ८९३ पुरुष र १ लाख ६ हजार ५४३ महिला मतदाता कायम भएका छन् ।
What you should know
पाल्पा — २०७९ को प्रतिनिधिसभा निर्वाचनको तुलनामा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि ६ हजार ११० मतदाता बढेका छन् । फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २ लाख ७ हजार ४३६ कायम भएको हो ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार पाल्पामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १ लाख १ हजार ८९३ पुरुष र १ लाख ६ हजार ५४३ महिला मतदाता कायम भएका हुन् ।
पाल्पामा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र छन् । क्षेत्र नम्बर १ मा ९८ हजार ३८३ र क्षेत्र नम्बर २ मा १ लाख ९ हजार ५३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।
जिल्लामा २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा २ लाख १ हजार ३ सय २६ जना मतदाता थिए । जसमा ९८ हजार २ सय ८ पुरुष र १ लाख ३ हजार १ सय १८ जना महिला मतदाता थिए।
पाल्पामा यसअघिकै १ सय १८ मतदानस्थल यसपटक पनि कायम भएको छ। मतदाता संख्या बढेसँगै जिल्लामा यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५ वटा मतदान केन्द्र थप भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यसअघि पाल्पामा २ सय ४६ मतदान केन्द्र थिए। ५ वटा मतदान केन्द्र थपिएपछि २ सय ५१ पुगेको छ ।
रामपुर नगरपालिका–९ जब्गादी, निस्दी गाउँपालिका–१ बाँकामलाङ्, माथागढी गाउँपालिका–१, चिदीपानी, तिनाउ गाउँपालिका–६, मस्याम र बगनासकाली गाउँपालिका–२, पोखराथोकमा एक/एक वटा गरी ५ वटा मतदान केन्द्र थप भएको निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले जानकारी दिए ।
क्षेत्र नम्बर १ मा ५२ मतदानस्थल र १ सय १७ मतदान केन्द्र रहेको छ । क्षेत्र २ मा भने मतदानस्थल ६६ र मतदान केन्द्र १ सय ३४ रहेको छ । समानुपातिकका लागि अस्थायी मतदान केन्द्र पछि निर्धारण हुनेछ ।
पाल्पामा सबैभन्दा धेरै तानसेन नगरपालिकामा ३६ हजार ३३७ मतदाता छन् । रामपुर नगरपालिकामा २९ हजार ८६९ मतदाता छन् भने सबैभन्दा कम मतदाता पूर्वखोला गाउँपालिकामा १४ हजार ११७ मतदाता संख्या कायम भएको उनले बताए ।
रैनादेवी छहरामा २१ हजार ३६०, बगनासकाली गाउँपालिकामा २१ हजार ४३, माथागढीमा १९ हजार ९९७, रम्भा गाउँपालिकामा १८ हजार ४० मतदाता कायम भएको निर्वाचन कार्यालयले जनाएको छ । रिब्दीकोट गाउँपालिमामा १६ हजार ९६८, निस्दी गाउँपालिमामा १५ हजार २३२, तिनाउमा १४ हजार ४४६ मतदाता कायम भएका छन् ।
पाल्पाका दुबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय खुलेको छ । क्षेत्र नम्बर १ को रामपुर नगरपालिका–५, बेझाडस्थित वडा कार्यालयमा र क्षेत्र नम्बर २ को तानसेन नगरपालिकाको पाल्पा दरबार संग्रहालयको भवनमा कार्यालयमा स्थापना गरिएको छ । क्षेत्र नम्बर २ मा पाल्पा जिल्लाका जिल्ला न्यायाधीश हरिप्रसाद शर्मा उपाध्याय पंगेनी मुख्य निर्वाचन अधिकृत हुन् । क्षेत्र नम्बर १ को निर्वाचन अधिकृत महान्यायाधिवत्ताको कार्यालयका उपन्यायाधिवक्ता दशरथ पंगेनी रहेका छन् ।
