संख्या अपुग भएपछि शुक्रबार र शनिबार दुई दिन म्याद थप भए पनि कम आवेदन परेको हो ।
What you should know
गुल्मी — आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन प्रहरीमा माग गरिएको संख्या भन्दा ३०१ कम आवेदन परेका छन् । संख्या अपुग भएपछि शुक्रबार र शनिबार दुई दिन म्याद थप भए पनि कम आवेदन परेको हो ।
नेपाल प्रहरी अन्तर्गत माग गरिएको संख्या १ हजार ६ सय ९५ जना भए पनि हालसम्म आवेदन परेको संख्या १ हजार ४ सय १८ जना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । त्यस्तै, सशस्त्र प्रहरी बल अन्तर्गत माग गरिएको संख्या १ सय ७९ जना रहेपनि हालसम्म आवेदन परेको संख्या १ सय ५५ जना छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवैमा गरेर जम्मा १ हजार ८ सय ७४ जना माग भएकोमा १ हजार ५ सय ७३ आवेदन परेका छन् । जुन माग गरिएको संख्या ३ सय १ कम आवेदन हो । आज ३ गते सम्मको जिल्ला प्रहरी कार्यालय गुल्मीमा निर्वाचन प्रहरीको दर्ता संख्या पुरुष १ हजार १ सय २२ र महिला २ सय ९६ गरी जम्मा १ हजार ४ सय १८ जनाको आवेदन छ । जून माग संख्या भन्दा अपुग संख्या २ सय ७७ जना छन् । त्यस्तै, सशस्त्र प्रहरी बलतर्फ जम्मा संख्या पुरुष १ सय ३८ र महिला १७ गरी जम्मा १५५ जनाको आवेदन छ । जुन माग संख्या भन्दा अपुग संख्या २४ जना छन् ।
पुनः म्याद थप गर्ने वा अन्यत्रबाट व्यवस्थापन गर्नेसम्बन्धी कुनै निर्णय भने नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
