लुम्बिनीमा आज सार्वजनिक विदा

लुम्बिनी प्रदेश सरकारले वार्षिक रुपमा ६ वटा विदा दिने गरेको छ ।

माघ २, २०८२

घनश्याम गौतम

Public holiday in Lumbini today

बुटवल — लुम्बिनी प्रदेश सरकारले शुक्रबार प्रदेशभर सार्वजनिक विदा दिएको छ । थारु समुदायको बाहुल्यता रहेको प्रदेशमा माघीलाई विशेष पर्वका रुपमा मान्ने भएकाले सरकारले प्रदेशभर विदा दिएको हो।

लुम्बिनी प्रदेशको प्रमुख धार्मिकस्थल गुल्मी, पाल्पा र स्याङजाको सिमानामा पर्ने रुरु क्षेत्र धाममा पनि माघीका अवसरमा तीन दिनसम्म धार्मिक मेला लाग्ने गर्छ। तराईका जिल्लामा थारु समुदायको पर्व र पहाडी जिल्लाका लागि रुरु क्षेत्रको धार्मिक महत्व अनुसार प्रदेश सरकारले प्रदेशभर विदा दिने गरेको हो । 

प्रदेश राजपत्रमा २०८१ चैत २१ गते सार्वजनिक सूचना अनुसार माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोक बहादुर सुनारले बताए ।

उनका अनुसार प्रदेश सरकारले वार्षिक रुपमा ६ वटा विदा दिने गरेको छ । त्यसमध्ये माघ २ गते माघी, माघ ९ गते श्रीपञ्चमी र माघ २१ गते प्रदेश स्थापना दिवसका अवसरमा प्रदेशभर विदा हुन्छ । त्यस्तै भुम्या पूजाका लागि रोल्पा, दाङ, रुकुम पूर्व र प्यूठान जिल्लामा एक दिन विदा हुन्छ । अट्वारी पर्वका लागि दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र नवलपरासी पश्चिममा विदा हुन्छ । त्यस्तै भगवती जात्राको अवसरमा पाल्पामा एक दिन बिदा हुन्छ । 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully