पनौती नगरपालिका र धुलिखेलमा क्षेत्र नं. १ र २ का निर्वाचन कार्यालय उद्घाटन भएसँगै निष्पक्ष निर्वाचनका लागि सुरक्षा र सहकार्यमा जोड दिइएको छ।
What you should know
काभ्रे — फाल्गुण २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेको क्षेत्र नं. १ र २ का लागि निर्वाचन कार्यालय स्थापना गरिएको छ।
काभ्रेको पनौती नगरपालिका वडा नं. ४ स्थित पनौती नगरपालिकाको कार्यालयमा क्षेत्र नं. १ को निर्वाचन कार्यालय र धुलिखेल नगरपालिका वडा नं. ६ स्थित शिक्षा तालिम केन्द्रमा क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना गरिएको हो।
मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले क्षेत्र नं. १ को निर्वाचन कार्यालय उद्घाटन गरेका हुन्। प्रमुख जिल्ला न्यायाधीश मातृका प्रसाद आचार्यले क्षेत्र नं. २ को निर्वाचन कार्यालय उद्घाटन गरेका हुन्। यही भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यले निर्वाचनलाई निष्पक्ष एवं गौरवमय रूपमा सम्पन्न गराउनका लागि सबैको साथ, सहयोग र सहकार्य आवश्यक रहेको बताए।
त्यस्तै, मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले निर्वाचनमा धेरैभन्दा धेरै मतदाता सहभागी हुने र थोरैभन्दा थोरै मत बदर होस् भन्ने निर्वाचन कार्यालयको प्रमुख उद्देश्य रहेको बताए। यसको लागि राजनीतिक दलको मुख्य भूमिका रहने उनको भनाइ थियो। ‘यसमा निर्वाचन आयोगको स्वतन्त्र भूमिका रहन्छ,’ उनले भने, ‘निर्वाचनका खेलाडीको मुख्य भूमिकामा राजनीतिक दल नै हुन्छन्।’
निष्पक्ष रूपमा भयमुक्त वातावरणमा सबैको स्वतःस्फूर्त सहभागिता हुने गरी निर्वाचनको माहौल बनाउन सबैको उत्तिकै भूमिका रहने प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए। जिल्लामा निर्वाचन व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गराउनका लागि सबै राजनीतिक दललाई आग्रह गरिएको उनको भनाइ थियो। यसका लागि जिल्लामा एकीकृत सुरक्षा योजना बनाएर सुरक्षा निकाय परिचालित भइसकेको उनले जानकारी दिए।
