गुल्मीका दुवै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय खुल्यो

गुल्मीमा २ लाख २९ हजार ५ सय ४९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय प्रमुख ऋषि घिमिरेले बताए।

माघ २, २०८२

सन्तोष महतारा

Election officer's office opens in both areas of Gulmi

What you should know

गुल्मी — गुल्मीका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना भएका छन्।

जिल्लाकाे पूर्वी क्षेत्रलाई समेटेको क्षेत्र नम्बर १ सहितको दुवै क्षेत्रकाे मुख्य निर्वाचन कार्यालय जिल्ला समन्वय समितिकाे कार्यालय तम्घासमा स्थापना गरिएको छ। जसमा मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पाैडेल छन्।

जिल्लाकाे पश्चिम क्षेत्र समेटेकाे क्षेत्र नम्बर २ काे कार्यालय शिक्षा विकास तथा समन्वय इकाई तम्घासमा स्थापना गरिएको छ। जसमा निर्वाचन अधिकृत हरिहर पाैडेल छन् । फागुन २१ काे प्रतिनिधिसभा निर्वाचनका लागि कार्यालय स्थापना गरिएका हुन्।

गुल्मीमा २ लाख २९ हजार ५ सय ४९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका प्रमुख ऋषि घिमिरेले बताए। उनका अनुसार महिला १ लाख १५ हजार २ सय १० जना, पुरुष १ लाख १४ हजार ३ सय ३७ जना र अन्य दुई जना मतदाता रहेका छन्।

गत निर्वाचनको तुलनामा अहिले मतदाताको संख्या पाँच हजार २ सय ७३ ले बढेको छ। हालसम्म यस जिल्लामा १ सय ४५ मतदान स्थल र २ सय ८४ मतदान केन्द्र रहेको घिमिरेले बताए।

क्षेत्र नम्बर १ मा १ लाख २२ हजार १ सय ८६ जना मतदाता रहेका छन् । जसमा महिला ६२ हजार २ सय ७२ जना र पुरुष ५९ हजार ९ सय १४ जना मतदाता रहेका छन् । यस क्षेत्रमा ८३ मतदानस्थल र १ सय ५५ मतदान केन्द्र कायम गरिएको छ।

निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ७ हजार ३ सय ६३ जना मतदाता रहेका छन् । जसमा महिला ५२ हजार ९ सय ३८ जना, पुरुष ५४ हजार ४ सय २३ जना र अन्य दुई जना मतदाता रहेका छन् । यस क्षेत्रमा ६२ मतदान स्थल र १ सय २९ मतदान केन्द्र छन् । गुल्मी हेभिवेट नेताहरूकाे जिल्ला भए पनि चुनावी सरगर्मी भने तातिसकेको छैन् ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एमालेका प्रदीप ज्ञवाली र कांग्रेसका चन्द्र भण्डारीकाे क्षेत्र हो । पालैपालो चुनाव जित्ने उनीहरू मध्ये यसपटक ज्ञवाली एमालेबाट एकल सिफारिस भएका छन् । भण्डारी कांग्रेसबाट दर्जनभन्दा बढीका नेतासहित सिफारिस भएका छन्। कांग्रेस फुटमा आफूलाई दुवैतिर बताउने भण्डारीका कारण ज्ञवालीसँगकाे निकटतम प्रतिस्पर्धीकाे टुंगो छैन् । यद्यपि यसपाली राष्ट्रिय स्वतन्त्र पार्टीका कमल केसी पनि उम्मेद्वार हुने चर्चा छ ।

क्षेत्र नम्बर २ मा एमालेका गाेकर्ण बिष्ट एकल सिफारिस भएका छन् । पछिल्लाे पटक ह्ह्याट्रिक जितले बलियो बनेका बिष्टका बलिया प्रतिद्वन्दीकाे मैदानमा अझै टुंगो छैन् । कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ दर्जन बढी नेतासहित सिफारिस भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट पनि उम्मेदवार टुंगो नलाग्दा बिष्टसँगका प्रतिस्पर्धीकाे अझै एकिन भइसकेको छैन् ।

सन्तोष

Link copied successfully