रिडी मेलामा कृत्रिम तालमा डुंगा सयर गर्नेहरूको आकर्षण

डुंगा चढ्न चाहनेको भीड बढेपछि रिडी तालमा टिकट शुल्क घटाएर अब एक फन्कोमा दुई सय रुपैयाँ कायम गरिएको छ।

माघ २, २०८२

सन्तोष महतारा

Boating on the artificial lake attracts visitors at the Ridi Mela

गुल्मी — माघी मेला रिडीमा नदी थुनेर बनाइएको कृत्रिम तालमा डुंगा सयर गर्नेको संख्यामा वृद्धि भइरहेको छ। बिहीबार पहिलो दिन नै ६९३ जनाले डुंगा सयर गरेका छन्।

पहिलो दिन डुंगा चढ्नेहरूबाट प्रति व्यक्ति तीन सय रुपैयाँका दरले जम्मा दुई लाख सात हजार नौ सय रुपैयाँ आम्दानी भएको लगानीकर्ता सुन्दर भण्डारीले बताए। उक्त शुल्कमा तालमा दुई फन्को लगाइएको थियो, जुन १०/१२ मिनेट आसपासको समय हो।

शुक्रबार भने टिकट शुल्क घटाइएको छ। धेरै भीड रहेकोले एक फन्को मात्रै लगाउने भएकोले शुल्क पनि घटाएर प्रति व्यक्ति दुई सय रुपैयाँ मात्रै तोकिएको छ। अहिले पनि तालमा डुंगा चढ्नेहरूको भीड छ।

पर्यटक भित्र्याउनका लागि स्थानीय युवाहरू मिलेर रिडीमा नदी थुनेर ताल बनाएका छन्। स्थानीय आठ जना युवा मिलेर आफ्नै लगानीमा माघी मेलालाई केन्द्रमा राखेर डुंगा चलाउन ताल बनाएका हुन्।

एक करोड लगानीमा रविलाल पन्थ, नारायण ज्ञवाली, रामप्रसाद ज्ञवाली, विष्णु नेपाल, सुन्दर भण्डारी, विजय कालीराज, पशुपति गौतम र हुमनाथ ज्ञवालीले ताल बनाउन लागेका हुन्।

दुई जेट बोट (डुंगा) सञ्चालनमा ल्याइएको छ। पेट्रोलबाट चल्ने उक्त बोटमा ११ जना पर्यटकको क्षमता रहेको छ।

चार सय मिटर लम्बाइ, चौडाइ ६० मिटर र गहिराइ सुरुवाती चरणमा चार मिटर रहेको छ।

गुल्मी, पाल्पा र स्याङ्जाको संगम स्थल रुरुक्षेत्रधाममा पछिल्लो समय तीनमुखे पुलले समेत यात्रामा सहजतासँगै पर्यटकीय विकासमा टेवा पुर्‍याएको छ।

सन्तोष महतारा

Link copied successfully