टिपर दुर्घटनामा चालकको मृत्यु

पाल्पाबाट गुल्मी जाँदै गर्दा भएको दुर्घटनामा परी धादिङको थार्केगाउँपालिका–३, का परियारको घटनास्थलमै मृत्यु भएको हो ।

माघ १, २०८२

माधव अर्याल

Driver dies in tipper accident

पाल्पा — पाल्पाको रिब्दीकोट गाउँपालिका–२, जोर्ते नजिकै भएको टिपर दुर्घटनामा चालक ३१ वर्षीय केशबबहादुर परियारको मृत्यु भएको छ । 

पाल्पाबाट गुल्मी जाँदै गर्दा भएको दुर्घटनामा परी धादिङको थार्केगाउँपालिका–३, का परियारको घटनास्थलमै मृत्यु भएको हो । ना ८ ख ३६५ नम्बरको टिपर तानसेन–रिडी–तम्घास सडक खण्डको जोर्तेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिए ।

क्षमताभन्दा अधिक भार बोकेको टिपर सडकदेखि अन्दाजी २ सय मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पाल्पाका सडकमा गुड्ने तीव्र गतिका टिपरले चालककै ज्यान लिने गरेको छ । 

चुनढुंगा खानीमा चल्ने टिपरका साथै सिजी कम्पनीबाट क्लिङ्कर साथै सिमेन्ट बोकेका टिपर तीव्र गतिमा गुड्ने, साइड लाइट नदिने, ओभरटेक जथाभावी गर्ने, ट्राफिक जाँच नहुँदा लापरवाहीले दुर्घटना हुने गरेको नागरिक समाजका अगुवा चित्रवलीराम सुवालले बताए । उनका अनुसार टिपरलाई ट्राफिकले जाँच नै नगर्दा लापरबाही तरिकाले सञ्चालन गर्ने र दुर्घटनाका घटना बढेका छन् ।

यसैबीच, पाल्पाको माथागढी गाउँपालिका–७, रहवास ओखरीगौडा टोलमा भएको टिपर दुर्घटनामा चालक गम्भीर घाइते भएका छन् । चुनढुङ्गा खानीबाट चुढुंगा लोड लिएर सर्वोत्तम सिमेन्ट नवलपरासी हिँडेको ग १ क ६२२४ नम्बरको टिपर दुर्घटना हुँदा चालक घाइते भएका हुन् । क्षमता भन्दा अधिक भार बोकेको  टिपरले उकालोमा गाडीले लोड तान्न नसकी अचानक ब्याक हुँदा दुर्घटना भएको स्थानीय बासिन्दाले जनाएका छन् । 

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully