सत्यवती गाउँपालिका-८ भार्सेमा स्थानीयको सक्रियतामा साढे २ करोड रुपैयाँमा बौद्ध स्तुपासँगै पर्यटकीय संरचना तयार गरिएका छन्।
गुल्मी — भार्से देउरालीमा बौद्ध स्तुपासँगै बनेका पर्यटकीय संरचनाले पर्यटकको संख्यामा वृद्धि गरेको छ। पछिल्लो समय भार्से देउराली पुग्ने पर्यटकको संख्यामा वृद्धि भएको हो ।
सत्यवती गाउँपालिका-८ भार्सेमा स्थानीयको सक्रियतामा साढे २ करोड रुपैयाँमा बौद्ध स्तुपासँगै पर्यटकीय संरचना तयार गरिएका छन्। समुन्द्री सतहदेखि २ हजार १ सय ८ मिटर उचाइमा रहेको भार्सेमा पछिल्लो समय बाह्य तथा आन्तरिक पर्यटकको संख्यामा वृद्धि भइरहेकाे छ।
स्तुपा निर्माणका लागि भार्सेली समाज हङकङ, भार्से समाज युके, भार्सेली समाज तराई क्षेत्र, भार्सेली समाज काठमाडौँ र छिमेकीहरूले आर्थिक सहयोग गरेकाे स्थानीय अगुवा नरु बुढाथोकीले बताए । जसमा स्थानीय सरकार र पर्यटन कार्यालय भैरहवाबाट २५ लाख रुपैयाँ समेत लगानी भएको छ।
बौद्ध स्तुपा निर्माणको परिकल्पनाकार समेत रहेका अवकाशप्राप्त बिट्रिश आर्मीका लेफ्टिनेन्ट हाल हङकङ बस्ने कुल बहादुर बुढाथोकी एक्लैले १ करोड १५ लाख रुपैयाँ सहयोग गरेका छन्। उनकै सहयोगमा भार्से देउरालीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
पर्यटक संख्यात्मक रुपमा अभिलेख नरहे पनि पछिल्लाे दुई वर्षयता सार्वजनिक बिदामा औसतमा ३५ जना आसपास र अघिपछि दैनिक १५ जना आसपास पर्यटक भित्रिएकाे स्थानीय अगुवा बुढाथोकीले बताए ।
भार्से देउरालीबाट उत्तरका धौलागिरी, अन्नपूर्ण र माछापुच्छ्रेलगायतका मनमोहक हिमश्रृङखला र गुल्मीसहित पर्वत, बाग्लुङ्ग, म्याग्दी, पाल्पा र स्याङजाकाे दृश्यावलोकन गर्न सकिन्छ ।
