मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दामा सोमबार अदालतबाट ५ दिनको म्याद लिएर ६ जनामाथि अनुसन्धान भइरहेको छ ।
कपिलवस्तु — बाणगंगा नगरपालिका–१०, भावपुरस्थित रोयल सिटी कटेज एण्ड रेस्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय, पिपराबाट खटिएको प्रहरी टोलीले छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा रूपन्देहीको कञ्चन गाउापालिका–५ पिपरी चापा बस्ने ३५ वर्षीय दिलीप थापा, सोही पालिका–५ भैसाही बस्ने ३२ वर्षीय कमल थापा, सोही पालिका गौडी बस्ने ३३ वर्षीय दीपेन्द्र घर्तीमगर, वाणगंगा नगरपालिका–१० बनकट्टी बस्ने ३५ वर्षीय अर्जुन चौधरी, वाणगंगा नगरपालिका–३, भक्तौली बस्ने ३३ वर्षीय उमेश पोखरेल र भावपुर बस्ने ३५ वर्षीय रेस्टुरेन्ट सञ्चालक दिनेश थारु रहेका छन् ।
तास खेलिरहेकाहरूबाट प्रहरीले २ लाख ५६ हजार २ सय ९० रुपियाँसहित ६ थान मोबाइल तथा ३ गड्डी तास बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले बताए ।
६ जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दामा सोमबार अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।
