बर्दियामा जलपन्छी गणना सुरु

बढैयाताल, निकुञ्ज क्षेत्र, सतखलुवा ताल, मध्यवर्ती क्षेत्र, सामुदायिक वनलगायत चरा देखिने ठाउँमा गणना गरिने छ।

पुस २८, २०८२

कमल पन्थी

Waterfowl census begins in Bardiya

बर्दिया — बर्दियामा सोमबारबाट जलपन्छी गणना सुरु भएको छ। बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वाराबाट सुरु गरिने जलपन्छी गणना सोमबार बिहानबाट सुरु गरिएको हो।

बढैयाताल, निकुञ्ज क्षेत्र, सतखलुवा ताल, मध्यवर्ती क्षेत्र, सामुदायिक वनलगायत चरा देखिने ठाउँमा गणना गरिने छ।

जलपन्छी गणनाका लागि ६० जना गणक खटिएको नेपाल पन्छी विज्ञ संघका अध्यक्ष एंव जलपन्छी गणनाका बाँके, बर्दिया संयोजक रामबहादुर शाहीले बताए।

दुई दिने चरा गणना राष्ट्रिय प्रकृति संरक्षण कोष, होटल गाईड एसोसिएसन, नेचर गाइड, जेड एसएल, उज्यालो नेपाल, हान, सिबुएपुलगायत बर्दिया निकुञ्जको सहयोगमा हुन लागेको हो।

गत वर्ष बर्दियामा विभिन्न प्रजातिका ३ हजार २ सय ४ जलपन्छीको गणना भएको थियो । गत वर्ष कर्णालीमा १५ प्रजातिका ८ सय ९९, गेरुवामा ३० प्रजातिका ५ सय ९३ र बढैयातालमा ४५ प्रजातिका १ हजार ७ सय १२ जलपन्छीको गणना भएको बर्दिया निकुञ्जका संरक्षण अधिकृत एंव सूचना अधिकारी सरोजमणि पौडेलले बताए।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully