सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्व रामपुर नगरपालिकामा रहेको यो विद्यालयले शैक्षिक क्षेत्रमा नमुना पहिचान बनाएको लुम्बिनी प्रदेशसभा सदस्य श्रेष्ठले बताए।
What you should know
पाल्पा — सामुदायिक विद्यालयमा जिल्लामा सबैभन्दा धेरै विद्यार्थी पढ्ने रामपुर नगरपालिका–५ बेझाडस्थित रामतुलसी माध्यमिक विद्यालयलाई अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्रदान गरिएको छ।
समग्र शैक्षिक तथा भौतिक गुणस्तर सुधार मानकीकरणका लागि सोमबार अन्तर्राष्ट्रिय संगठन (आईएसओ)को लोगो विद्यालयलाई हस्तान्तरण गरिएको हो।
आईएसओका नेपाल प्रतिनिधि सुदीप शर्माले विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्साल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक श्रेष्ठ, लुम्बिनी प्रदेशसभा सदस्य राजु श्रेष्ठलाई अन्तर्राष्ट्रिय गुणस्तरका लागि आइएसओको लोगो प्रदान गरेको हो।
कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, छिमेकी विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्षलगायतको उपस्थिति थियो। प्रअ लम्साल र अध्यक्ष श्रेष्ठले एक वर्षभित्र सबै सूचक पूरा गर्ने प्रतिवद्धता जनाएका छन्। लुम्बिनी प्रदेशसभा सदस्य श्रेष्ठले प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए।
अन्तर्राष्ट्रिय गुणस्तरले विशेषगरी विद्यालयको व्यवस्थापन सम्बन्धमा प्रशासनिक सुधार, कक्षाकोठाको शैक्षिक गुणस्तर अभिवृद्धि, अभिभावकले विद्यार्थी शिक्षाको गुणस्तर बढाउन सहभागितालाई जोड दिएको आईएसओका नेपाल प्रतिनिधि शर्माले बताए।
विद्यालयलाई निरन्तर सुधार, पारदर्शिता र गुणस्तरीय शिक्षातर्फ अग्रसर गराउने महत्वपूर्ण उपलब्धिका लागि अग्रसर रहेको प्रअ लम्सालले बताए। रामतुलसी नमुना माविमा २ हजार ७ सय ७२ विद्यार्थी छन्।
सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्व रामपुर नगरपालिकामा रहेको यो विद्यालयले शैक्षिक क्षेत्रमा नमुना पहिचान बनाएको लुम्बिनी प्रदेशसभा सदस्य श्रेष्ठले बताए। विद्यालयको वातावरण, प्रविधिमैत्री शिक्षा अन्य विद्यालयका लागि सिकाइ सिक्ने थलो बनेको उनले बताए। रामपुर क्षेत्रलाई शैक्षिक हबको रुपमा विकास गर्न आफू प्रतिवद्ध रहेको पनि उनले बताए।
शिक्षक, कर्मचारी, व्यवस्थापन समिति र अभिभावकले विद्यालयको शैक्षिक तथा भौतिक स्तर सुधार गर्ने प्रयास गरेकाले नै अहिले सफल भएको व्यवस्थापन समिति अध्यक्ष श्रेष्ठले बताए। रामतुलसीमा वार्षिक १ सय ५० जनाका दरले विद्यार्थी बढिरहेको विद्यालयले जनाएको छ। यो विद्यालयमा तीन वर्षे कृषि बाली विज्ञान, कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, शिक्षा विषयको पढाई भइरहेको छ।
समयानुकूल शिक्षण सिकाइलाई अवलम्बन गरेर शैक्षिक वातावरण व्यवस्थापन गर्दै गएकाले पनि विद्यार्थीको आकर्षण बढेको अभिभावक चिरञ्जीवी सिग्देलले बताए । शिक्षाको गुणस्तर वृद्धि गर्न विद्यालयले दक्ष जनशक्ति छनोट, विद्यार्थीलाई विद्यालयभित्र पुगिसकेपछि पढ्ने वातावरण तयार बनाएको विद्यार्थी करिना कार्कीले बताइन् । विद्यालयमा १ सय बढी शिक्षक तथा कर्मचारी कार्यरत छन्।
गत आर्थिक वर्षमा व्यावसायिक शिक्षा अभिवृद्धि परियोजनाअन्तर्गत विनियोजित ३२ लाख रुपैयाँ सहयोगमा अत्याधुनिक खालको कम्प्युटर ल्याब तयार पारिएको छ।
एक पटकमा ३० जना विद्यार्थीले प्रयोग गर्न मिल्ने बनाइएको सूचना प्रविधि शिक्षक चन्द्रप्रकाश भट्टराईले बताए । उनका अनुसार कक्षा ८ देखि १२ सम्म कम्प्युटर कक्षा सञ्चालन गरिएको छ। व्यवस्थित पुस्तकालय, सुविधा सम्पन्न ३ सय जना अट्ने क्षमताको चमेना गृह व्यवस्थापन गरिएको छ।
२०२५ सालमा स्थापना भएको यो विद्यालय पाल्पाको पूर्व भेगमा पुरानो हाइस्कुलका नामले परिचित छ । यो विद्यालयमा पर्याप्त खेलमैदान, सुविधा सम्पन्न शौचालय, खानेपानी, प्रयोगशाला, पुस्तकालयलगायतको सुविधा छ ।
