रामपुरमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते

पाल्पाको रामपुर नगरपालिका–८ कुमराङ्गमा शनिबार दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो भने दुई जना घाइते भएका हुन् ।

पुस २६, २०८२

माधव अर्याल

One killed, two injured as two motorcycles collide in Rampur

पाल्पा — पाल्पाको रामपुर नगरपालिका–८, कुमराङ्गमा शनिबार दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रामपुर नगरपालिका–८ पिल्टार बस्ने ५० वर्षीय डोलबहादुर कुमाल रहेको प्रहरीले जनाएको छ । रामपुरबाट भुजाततर्फ जाँदै गरेको लु २० प ५८९७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ६८ प ८८०० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो ।

दुर्घटनामा लु ६८ प ८८०० का चालक डोलबहादुर कुमाल, लु २० प ५८९७ नम्बरको चालक रामपुर नगरपालिका–८, धारापनी बस्ने २१ वर्षीय करण श्रेष्ठ र मोटरसाइकल पछाडि सवार सोही स्थानका २३ वर्षीय गिरमान श्रेष्ठ घाइते भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक लालबहादुर सुनारले बताए ।                       

दुर्घटनामा परेर घाइते भएका उनीहरुलाई उपचारका लागि रामपुर अस्पताल ल्याइएको थियो । गम्भीर घाइते डोलबहादुर कुमालको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको हो । घाइतेमध्ये करणको अवस्था गम्भीर रहेको छ भने गिरमानको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरिएको छ । लु ६८ प ८८०० को मोटरसाइकलले अगाडि रहेको नम्बर नखुलेको कारलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully