कपिलवस्तुमा लैंगिक तथा यौनिक अल्पसंख्यक मतदाताको संख्या चार

लैंगिक तथा यौनिक अल्पसंख्यक पनि आफ्नो पहिचान स्थापित गर्न खुलेर आउनु निकै सकारात्मक भएको अधिकारकर्मी रवीन्द्र ठाकुरले बताए ।

पुस २६, २०८२

मनोज पौडेल

Number of gender and sexual minority voters in Kapilvastu is four

कपिलवस्तु — जिल्लामा चार जना मात्रै लैंगिक तथा यौनिक अल्पसंख्यक मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । ०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा दुई जना त्यस्ता मतदाता रहेकामा अहिले बढेर चार पुगेका हुन् ।

०७९ को प्रतिनिधिसभा निर्वाचनमा भन्दा ०८२ मा हुन लागेको निर्वाचनका लागि जिल्लामा १८ हजार ३३ मतदाता बढेका छन् । आगामी फागुन २१ मा हुने निर्वाचनका लागि जिल्लामा ३ लाख ९६ हजार २ सय ६५ मतदाता रहेका छन् । जसमा पुरुष २ लाख ११ हजार ८ सय ४६, महिला १ लाख ८४ हजार ४ सय १५ र लैंगिक तथा यौनिक अल्पसंख्यक ४ जना मतदाता रहेका छन् । 

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा ३ लाख ७८ हजार २ सय ३२ मतदाता रहेका थिए । ०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनपश्चात् निर्वाचन कार्यालयमा आएका, ०८२ को निर्वाचन घोषणा भएपछि निर्वाचन कार्यालय फोटो खिचाइ दर्ता भएका र बाह्य जिल्लाबाट दर्ता भएर आएका १८ हजार ३३ मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी कमलप्रसाद भूसालले बताए । त्यस्तै १ सय ६३ जनाको मृत्यु भएकाले उनीहरूको नाम मतदाता सूचीबाट हटाइएको उनले बताए । 

लैंगिक तथा यौनिक अल्पसंख्यक मतदाताको पहिचान भने व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्दै गोप्य राखिएको छ । लैंगिक तथा यौनिक अल्पसंख्यक पनि आफ्नो पहिचान स्थापित गर्न खुलेर आउनु निकै सकारात्मक भएको अधिकारकर्मी रवीन्द्र ठाकुरले बताए । ‘यो प्रयास र साहसको सबैले सम्मान गर्नु पर्छ,’ उनले भने ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully