जयेन्दु बालसुधार गृहकालाई एडभोकेसी फोरमको सहयोग

फोरमले भलिबल, फुटबल, सामान्य ज्ञानका पुस्तकदेखि धार्मिक पुस्तक, कापी, कलमलगायतका सामग्री प्रदान गरेको हो।

पुस २६, २०८२

रूपा गहतराज

Advocacy Forum's support to Jayendu Children's Home

नेपालगन्ज — मानव अधिकारवादी संस्था एडभोकेसी फोरम नेपालले बाँकेको आसमानपुर, डुडुवामा रहेको जयेन्दु बालसुधार गृहमा रहेका बालकहरूका लागि खेलकुद तथा पाठ्य सामग्री सहयोग उपलब्ध गराएको छ।

फोरमले करिब १७ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरका सामग्री उपलब्ध गराएको हो। सुधार गृहमा पर्याप्त पाठ्य र खेलकुद सामग्रीको अभाव भएपछि त्यहाँ रहेका बालकहरूले लिखित रूपमा सहयोगको अनुरोध गरेका थिए।

फोरमले भलिबल, फुटबल, सामान्य ज्ञानका पुस्तकदेखि धार्मिक पुस्तक, कापी, कलमलगायतका सामग्री प्रदान गरेको हो।

एडभोकेसी फोरम नेपालका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतमले बालसुधार गृहका प्रमुख किशोर शर्मालाई सामग्री हस्तान्तरण गरेका थिए। सुधार गृह प्रमुख शर्माले फोरमको सहयोगले बालकहरूलाई पढाइ र मनोरञ्जनमा सहयोग पुग्ने बताए। 

फोरमले कानुनी विवादमा परेका दुई जना बालकलाई शैक्षिक सहयोगसमेत गरेको लुम्बिनी प्रदेश संयोजक अधिवक्ता गौतमले जानकारी दिए। सुधार गृहमा विद्यालय नहुँदा बालकहरू माध्यमिक तथा उच्च शिक्षाका लागि सुधार गृह बाहिरका निजी तथा सरकारी शैक्षिक संस्थामा व्यक्तिगत रूपमा शुल्क तिरेर अध्ययन गर्न बाध्य छन्।

कमजोर आर्थिक अवस्थाका कारण पढाइ निरन्तरता दिन नसक्ने अवस्थाका दुई बालकलाई फोरमले अध्ययनमा सहयोग गरेको उनले बताए।

हाल बाँकेस्थित जयेन्दु बालसुधार गृहमा १७६ जना बालक रहेका छन्। तीमध्ये १८ वर्षमूनिका ९५ जना र १८ वर्ष माथिका ८१ जना कानुनी विवादमा परेका बालक रहेका छन्।

रूपा

Link copied successfully