स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले खोप, परिवार नियोजन, सुरक्षित मातृत्व, क्षयरोग, पोषण लेखाजोखा, सुशासनलगायतका सूचकांकलाई आधार बनाएर मूल्यांकन गरिएको बताए।
नेपालगञ्ज — स्वास्थ्य कार्यक्रमहरुको सूचकांकमा बाँकेको डुडुवा गाउँपालिकाले जिल्लाकै पहिलो स्थान प्राप्त गरेको छ।नेपालगञ्ज उपमहानगरपालिका सबैभन्दा पछाडि रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
विभिन्न ३२ वटा सूचकबाट प्राप्त ९० अङ्क र स्वास्थ्य कार्यालयले प्रदान गर्ने १० अङ्क गरी कूल १०० अङ्कमध्ये ७९.३६ प्रतिशत अङ्क ल्याएर डुडुवा गाउँपालिका बाँकेमा प्रथम भएको हो।
स्वास्थ्य सूचकांकमा जानकी गाउँपालिकाले ७५.२१ प्रतिशत अङ्क प्राप्त गरेर दोस्रो स्थान प्राप्त गरेको छ भने ७१.९७ प्रतिशत अङ्क ल्याएर खजुरा गाउँपालिका तेस्रो भएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार सो क्रममा राप्तीसोनारी गाउँपालिका चौथो, नरैनापुर गाउँपालिका पाँचौँ, बैजनाथ गाउँपालिका छैटौँ, कोहलपुर नगरपालिका सातौँ र नेपालगन्ज उपमहानगरपालिका आठौँ स्थानमा रहेका छन् ।
स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले खोप, परिवार नियोजन, सुरक्षित मातृत्व, क्षयरोग, पोषण लेखाजोखा, सुशासनलगायतका सूचकांकलाई आधार बनाएर मूल्यांकन गरिएको बताए ।
उनले सबै सूचकांकका आधारमा मूल्यांकन गर्दा डुडुवा, जानकी र खजुराको कार्यसम्पादन उत्कृष्ट देखिएको जनाउँदै अन्य पालिकाहरूको कार्यसम्पादनलाई समेत सुधार गरेर अघि बढ्न सुझाव दिइएको बताए।
कार्यसम्पादनमा उत्कृष्ट भएका डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सिताराम चौधरी, जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर राना र खजुरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी ओलीलाई लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु, नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्ट, लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठलगायतले सम्मान गरेका थिए।
