तानसेन र रामपुरको नगरसभाबाट दुई/दुई ऐन पारित

तानसेन र रामपुर नगरपालिकाको १८ औं नगरसभाले बिहीबार दुई/दुई ऐन पारित गरेको हो।

पुस २४, २०८२

माधव अर्याल

Two acts each passed by the municipal assemblies of Tansen and Rampur

What you should know

पाल्पा — तानसेन र रामपुर नगरपालिकामा दुई/दुई ऐन पारित गर्दै हिउँदे नगरसभा सकिएको छ। तानसेन नगरपालिकाको १८ औं नगरसभाको पहिलो बैठक बिहीबार बसेको थियो ।

सभामा नगरसभा सदस्य तथा तानसेन नगरपालिका–२ का वडाध्यक्ष महेश्वर श्रेष्ठले ‘तानसेन नगरपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रस्तुत गरेका थिए।

नगरसभा सदस्य तथा वडा–४ का वडाध्यक्ष हेमन्तराज शाक्यले ‘विज्ञापन कर व्यवस्थापन तथा नियमन विधेयक, २०८२’ प्रस्तुत गरेका थिए। सभामा नगर तानसेन नगरपालिकाको विनियोजन ऐन २०८२ को पहिलो संशोधन विधेयक र न्यायिक समितिको प्रतिवेदन नगर उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले पेस गरिन् । 

उपप्रमुख सिंजालीले नगरपालिकाको साबिक विनियोजन एक अर्ब ४६ करोड ५० लाख छ्यानब्बे हजार ८०७ रुपैयाँमध्ये १ अर्ब ३९ करोड ३१ लाख ८० हजार ३०७ रुपैयाँ संशोधित विनियोजन नगर सभामा पेस गरेकी थिइन्।

सभामा प्रस्तुत सम्पूर्ण विधेयक सर्वसम्मतले पारित भएको थियो भने नगरप्रमुख सन्तोषलाल श्रेष्ठले सभामा उठेका विषयमा जवाफ दिएका थिए। सभाको शून्य समयमा नगरसभा सदस्य माधव बस्यालले मात्र जिज्ञासा राखे ।

रामपुर नगरपालिकाको १८ औं नगर सभा विभिन्न योजनाको बजेट रकमान्तर तथा शीर्षकान्तरसहित दुई ऐन जारी गर्दै सम्पन्न भएको हो। हिउँदे सभाले वडा तथा नगर स्तरीय ८० वटा योजना तथा कार्यक्रमको बजेट रकमान्तर तथा शीर्षकान्तर गरेको नगरप्रमुख रमणबहादुर थापाले बताए। 

रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले प्रस्तुत गरेको योजनाको रकमान्तर र शीर्षकान्तर प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको हो ।

नगर सभाका सदस्य तथा विद्येयक समितिका संयोजक मिनबहादुर सिंजालीले प्रस्तुत गरेको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०८२ र विधेयक सदस्य विष्णुमाया गैरेले प्रस्तुत गरेको रामपुर नगरपालिका पर्यटन विकास विधेयक सर्वसम्मत रुपमा पारित गरेको छ।

नगर प्रमुख थापाले विकाससँगै नगरको पहिचानका लागि नगरपालिकाले गरेका कार्य गौरवको रुपमा रहेको बताए । रामपुर नगरपालिकाले खररहित घर, युवा स्वरोजगार, ढलरहित सहर, कालीगण्डकी पैदलमार्ग निर्माण, नगर गौशाला निर्माण, उज्यलो सहर घोषणालगायतका महत्वपूर्ण कार्य गर्दै आएको बताए।

नगर उपप्रमुख थापाले नगरको चालु आर्थिक वर्षको कुल बजेट ८१ करोड १३ लाख ६६ हजार ६२१ रुपैयाँ मध्ये अधिवेशनले वडा तथा नगर स्तरीय ८० वटा योजना तथा कार्यक्रमको २ करोड ५ लाख ११ हजार शीर्षकान्तर तथा रकमान्तर गरिएको बताइन् । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully