अहिलेका लागि अस्थायी ताल बनाएर जेठसम्म संचालन गर्ने योजना छ । आगामी वर्ष आरसीसी बाँधसहित स्थायी ताल बनाउने योजनामा युवा छन् ।
What you should know
गुल्मी — पर्यटक भित्र्याउने उद्देश्यले स्थानीय युवाहरू मिलेर रिडीमा नदी थुनेर ताल बनाउन लागेका छन् । स्थानीय आठ जना युवा मिलेर आफ्नै लगानीमा माघी मेलालाई केन्द्रमा राखेर डुङ्गा चलाउन ताल बनाउन लागिएको हो ।
रिडी पुलदेखि तीनमुखे पुललाई केन्द्रमा राखेर उक्त नदीलाई थुनेर ताल बनाउन लागिएको युवा सुन्दर भण्डारीले बताए । एक करोड लगानीमा रविलाल पन्थ, नारायण ज्ञवाली, रामप्रसाद ज्ञवाली, विष्णु नेपाल, सुन्दर भण्डारी, विजय कालीराज, पशुपति गौतम र हुमनाथ ज्ञवालीले ताल बनाउन लागेका हुन् । अहिले एकतर्फी ताल बनाउने काम सकिएको छ । बाँकी अर्कोतर्फ काम बनाउन डोजर चलिरहेको छ ।
अहिलेका लागि अस्थायी ताल बनाएर जेठसम्म संचालन गर्ने योजना छ । आगामी वर्ष आरसीसी बाँधसहित स्थायी ताल बनाउने योजनामा युवा छन् । ताल निर्माण सकेपछि अब दुई-चार दिनभित्र संचालनमा ल्याइनेछ । जसमा दुई जेट बोट संचालनमा ल्याइनेछ । पेट्रोलबाट चल्ने उक्त बोटमा ११ जना पर्यटकको क्षमता रहनेछ । तालमा प्रतिपर्यटक ३ सय रुपैयाँ तोकेर डुङ्गा (बोट) संचालन गरिनेछ ।
चार सय मिटर लम्बाइ र ६० मिटर चौडाइ रहेको तालको गहिराइ सुरुवाती चरणमा चार मिटर हाराहारी रहनेछ । स्थानीय युवाले रिडीको उत्थानका लागि बनाएको तालसँगै नजिक बन्ने तयारी भएको तर बीचमा रोकिएको साहसिक खेल जीपलाइनको निर्माणलाई पनि निरन्तरता दिन आग्रह गरेका छन् ।
गुल्मी, पाल्पा र स्याङ्जाको संगम स्थल रुरुक्षेत्रधाममा पछिल्लो समय तीनमुखे पुलले यात्रामा सहजतासँगै पर्यटकीय विकासमा टेवा पुर्याएको छ । अब निर्माण हुने तालका अलावा जीपलाइन पनि बन्नुपर्ने माग स्थानीय युवाको छ ।
