दुई पटक प्रतिनिधिसभा र दुई पटक संविधान सभा सदस्यमा निर्वाचित वृजेशकुमार गुप्ताले किन छोडे एमाले?

एमाले पार्टी परित्याग गरी स्वतन्त्र रहेका गुप्ताले अब छिट्टै कुनै निर्णय लिएर राजनीतिमा जोडिने बताएका छन् ।

पुस २४, २०८२

मनोज पौडेल

Why did Brijesh Kumar Gupta, who was elected to the House of Representatives twice and the Constituent Assembly twice, leave the UML?

What you should know

कपिलवस्तु — दुई पटक प्रतिनिधिसभा र दुई पटक संविधान सभा सदस्यमा निर्वाचित वृजेशकुमार गुप्ता नेकपा एमालेबाट अलग भएको केही समय भयो । तर, यसबीचमा उनले कुनै पार्टीमा जाने कि स्वतन्त्र रहने भन्ने निर्णय गर्न सकेका छैनन् ।

दुई ठूला दल मिलेर सुशासनको साटो दम्भ एवं अहंकार देखाएको र एमाले नेतृत्व पनि सुध्रिने लक्षण नदेखेपछि एमाले परित्याग गरेको गुप्ताको भनाइ छ । 

सदरमुकाम तौलिहवास्थित निवासमा बिहीबार कान्तिपुरकर्मीसँग कुराकानी गर्दै गुप्ताले भने, ‘एमाले पार्टीबाट कपिलवस्तु–२ मा निर्वाचन लडेको भए जित निश्चित थियो तर जितभन्दा पनि अहिलेको समयमा स्वविवेक प्रयोग गरेर काम गर्न पाउनु महत्त्वपूर्ण लागेकाले स्वतन्त्र बसेको छु ।’ 

पार्टीको निर्देशनात्मक काम गर्दा चारैतिर निराशा र विकृतिले प्रश्रय पाएको पनि उनले बताए । ‘जसको परिणामस्वरूप जेनजी आन्दोलन भयो । यस क्रममा मुलुकले ठूलो जनधनको क्षति बेहोनु पर्‍यो,’ उनले भने, ‘त्यसैले अबको यात्रा फरक दृष्टिकोणबाट जाऔं भनेर पार्टी छोडेर बसेको हुँ ।’ 

दुईपटक संघीय भौतिक योजना र कानुन तथा न्याय मन्त्रीसमेत भइसकेका उनले जेनजी आन्दोलनपछि एमाले/कांग्रेस पार्टीले आत्मसमीक्षा गर्लान् र सुध्रिएलान् भनेर अपेक्षा गरेको पनि सुनाए । ‘तर, त्यसो नगरेर जेनजी आन्दोलनलाई नजरअन्दाज गर्ने र आफ्ना कमजोरी ढाकछोप गरेर पुरानै ढर्रामा हिँड्न खोजेकाले चित्त नबुझेर पार्टीबाट बाहिरिएको हुँ,’ उनले भने । 

नेपाल विद्युत् प्राधिकरणमा स्थायी इन्जिनियरको जागिर छाडेर एक्कासि २०५६ सालमा उनी राजनीतिमा प्रवेश गरेका थिए । सुरुमा राप्रपाबाट प्रतिनिधि सभा सदस्य, २०६४ र २०७० मा दुई पटक तमलोपाबाट संविधान सभा सदस्य तथा २०७४ मा एमालेको सूर्य चिह्न लिएर स्वतन्त्र ढंगले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । पाँचौं पटक २०७९ को चुनावमा भने कांग्रेस नेता सुरेन्द्रराज आचार्यसँग झिनो मतले उनी पराजित भएका थिए ।

राम्रो कामको जस लिँदा नराम्रो कामको पनि जिम्मा लिन सक्नुपर्ने आँट नेताहरूले गर्नुपर्ने ५४ वर्षे गुप्ताको भनाइ छ । ‘मुलुकको प्रमुख समस्या भ्रष्टाचार र सुशासन हो,’ उनले भने, ‘भ्रष्टाचारलाई कठोर नीति लिएर निर्मूल पार्नु पर्नेमा पार्टीबाट संरक्षण गरेर ढाकछोप गर्नु दुःखद छ ।’

बुवा भगवानदास गुप्ताको निधनपछि राजनीतिमा आएका वृजेश कपिलवस्तुमा इमान्दार र निष्ठावान् नेतामा गनिने कपिलवस्तु बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष हरम सरिफ मुसलमान बताउँछन् । ‘उनको यहाँ राम्रो जनाधार र व्यक्तिगत पकड छ,’ उनले भने, ‘चुनावी सरगर्मीमा उनको उपस्थितिले विशेष अर्थ राख्छ ।’ 

मुलुकमा भएका अनेकन् भ्रष्टाचार काण्डमा विभिन्न पार्टीका नेता संलग्न रहेको र तिनलाई ठूला पार्टीका नेताले जोगाउने काम गरेको गुप्ताको आरोप छ । ‘यही कुरा मलाई चित्त बुझेन । त्यसैले जनताप्रति जवाफदेही बन्न भिजन, मिसनसहित काम गर्न चाहेकाले पनि पार्टीबाट बाहिरिएको हुँ,’ उनले भने ।

मुलुकमा व्याप्त भ्रष्टाचार लगायतका विकृतिको अन्त्य पार्टी संरचनामा बसेर गर्न नसकिने उनको दाबी छ । ‘त्यसैले दिनहुँ आफना नेता–कार्यकर्ता र शुभेच्छुकसँग छलफल गरिरहेको छु । अब कसरी अघि बढने ?, कता जाने ? भनेर गहन छलफल थालेको छु,’ उनले भने, ‘नयाँ दल स्थापना गर्ने समय छैन । त्यो समय अब घर्किसकेको छ । कुनै नयाँ दलमा जाने कि स्वतन्त्र भएर बस्ने भन्नेबारेमा अलमलमै छु ।’ 

अब आफूले छिट्टै निर्णय लिने पनि गुप्ताले बताए । ‘छलफल चलिरहेको छ । चुनाव हुने अब निश्चित भयो, अब छिट्टै कुन पार्टीमा जाने भनेर निर्णय लिन्छु,’ उनले भने, ‘प्रतिनिधि सभाको सामानुपातिक तर्फको उम्मेवारको नाम निर्वाचन आयोगमा बुझाएपछि चुनावी माहोल तातेको छ । मलाई पनि कार्यकर्ताले छिटो निर्णय लिन दबाब दिइरहेका छन् ।’

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully