राष्ट्रिय सभा सदस्यमा एमालेबाट झाँक्रीले गरिन् मनोनयन दर्ता

झाँक्री गत कात्तिक २४ गते मात्र एमालेमा फर्किएकी थिइन्

पुस २३, २०८२

दुर्गालाल केसी

Jhakri files nomination from UML for National Assembly seat

दाङ — माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि एमालेबाट रामकुमारी झाँक्रीले मनोनयन दर्ता गरेकी छिन् । घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा उनले महिला कोटामा लुम्बिनी प्रदेशबाट मनोनयन दर्ता गरेकी हुन् ।

झाँक्री गत कात्तिक २४ गते मात्र एमालेमा फर्किएकी थिइन् । उनीसहित कृष्णकुमार श्रेष्ठलगायतका नेताहरू एमालेमै फर्किएका थिए  ।  नेकपा एकीकृत समाजवादी माओवादी केन्द्रसहितका दलसँगको एकतामा गई नेपाली कम्युनिस्ट पार्टी बनाए पनि झाँक्रीलगायतका नेताहरू भने एमालेमै फर्किएका हुन् ।

लुम्बिनी प्रदेशमा एक अपांगता, एक महिला र एक खुला गरी तीनवटा कलस्टरमा मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले बताए । जसमा कांग्रेस र एमालेले तालमेल गरी मनोनयन दर्ता गरेका छन् । कांग्रेसबाट अपांग कोटामा दाङका वासुदेव घिमिरे र खुला कोटामा गुल्मीका चन्द्र केसीले मनोनयन दर्ता गरेका छन् । 

एमालेबाट निर्वाचित राष्ट्रिय सभा सदस्य गोपाल भट्टराई र राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, माओवादीका जगप्रसाद शर्माको पदावधि फागुन २० मा सकिँदैछ । भट्टराई खुलाबाट, घिमिरे महिलाबाट र शर्मा अपाङ्गता क्लस्टरबाट सहभागी थिए । 

लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्य ८७ जना र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २१७ जना गरी कुल ३०४ जना मतदाता छन् ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully