राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीबाट आठ जनाको मनोनयन

कांग्रेस र एमालेले तालमेल गरी उम्मेदवारी दर्ता गराएका छन् । एमालेको भागमा महिला कोटा परेको थियो भने कांग्रेसलाई अपांग र अन्य समूहबाट परेको थियो ।

पुस २३, २०८२

दुर्गालाल केसी

Eight candidates nominated from Lumbini in National Assembly elections

What you should know

दाङ — राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट आठ जनाको मनोनयन दर्ता भएको छ । बुधबार घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा कांग्रेस–एमाले गठबन्धनबाट तीन, नेपाली कम्युनिष्ट पार्टीबाट तीन र राष्ट्रिय जनमोर्चाबाट दुई जनाको उम्मेदवारी दर्ता भएको हो ।

माघ ११ गते हुने निर्वाचनमा लुम्बिनी प्रदेशबाट महिला, अपांगता/अल्पसंख्यक र अन्य गरी तीन जना सदस्य निर्वाचित हुँदैछन् । जसका लागि कांग्रेस र एमालेले तालमेल गरी उम्मेदवारी दर्ता गराएका छन् । एमालेको भागमा महिला कोटा परेको थियो भने कांग्रेसलाई अपांग र अन्य समूहबाट परेको थियो । जस अनुसार एमालेबाट मदाने गाउँपालिका–४, गुल्मीकी रामकुमारी झाँक्रीको उम्मेदवारी परेको छ ।

झाँक्री पूर्व सहरी विकास मन्त्री हुन् । उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिव थिइन् । हाल उनी पुनः एमालेमा फर्किएपछि राष्ट्रियसभा सदस्यको उम्मेदवारी बन्ने अवसर पाएकी हुन् । विद्यार्थी आन्दोलनबाट राजनीतिमा स्थापित भएकी झाँक्री अनेरास्ववियुको पूर्व केन्द्रीय अध्यक्ष पनि हुन् ।

कांग्रेसबाट अपांग कोटामा लमही नगरपालिक–३, दाङका वासुदेव घिमिरे र अन्य कोटामा रेसुङ्गा नगरपालिका–३, गुल्मीका चन्द्रबहादुर केसीले उम्मेदवारी दर्ता गरेका छन् । उनीहरू कांग्रेसका पुराना नेता हुन् ।Eight candidates nominated from Lumbini in National Assembly elections

यसैगरी नेपाली कम्युनिष्ट पार्टीले पनि तीनवटै सदस्यमा मनोनयन दर्ता गराएको छ । महिला कोटाबाट बराङ्दी गाउँपालिका–१, पाल्पाकी दुर्गाकुमारी भण्डारी, अपांगमा बैजनाथ गाउँपालिका–५, बाँकेका सर्जन विक र अन्यमा बर्दघाट नगरपालिका–१४, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का बृहस्पति अधिकारीले उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय जनमोर्चाले महिला र अन्य कोटामा उम्मेदवारी दर्ता गरेको छ । महिलामा प्यूठान नगरपालिका–८, प्यूठानकी पद्मा पण्डित र अन्यमा मल्लरानी गाउँपालिका–२, प्यूठानका बोमबहादुर खत्रीले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिए । मनोनयन दर्ता गर्नुअघि नेताहरूले बजारमा र्‍याली प्रदर्शन गरेका थिए ।Eight candidates nominated from Lumbini in National Assembly elections

एमालेबाट निर्वाचित गोपाल भट्टराई, राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे र तत्कालीन माओवादी केन्द्रका जगप्रसाद शर्माको पदावधि फागुन २० मा सकिँदैछ । भट्टराई अन्य, घिमिरे महिला र शर्मा अपांग कोटाबाट सदस्य थिए । लुम्बिनी प्रदेशमा ८७ प्रदेशसभा सदस्य र स्थानीय तहका २ सय १७  प्रमुख र उपप्रमुख गरी ३ सय ४ मतदाता छन् ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully