युवा आफैंमा लोकतन्त्रको संवाहक शक्ति भएकाे र कुनै पनि मुलुकको लोकतन्त्र कत्तिको बलियो छ भन्नका लागि त्यस मुलुकको आवधिक निर्वाचनमा युवाले खेलेको भूमिकामा निर्भर रहने तौफिक खानको जिकिर थियो ।
What you should know
लुम्बिनी — युवा उद्यमी तौफिक अहमद खानले रूपन्देही–५ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार हुने घोषणा गरेका छन् । पुराना पार्टीबाट मुलुक चल्न नसक्ने भन्दै युवा जोश र जाँगरको ऊर्जाले भरिएका उनले राष्ट्रिय स्वतन्त्र पार्टीले टिकट दिए आफू पछि नहट्ने बताएका हुन् ।
लुम्बिनीमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘अहिलेसम्म मुलुकको शासन सत्तामा रजगज गरेका दलले केही गर्न नसकेर देश र जनताले दुःख पाएको हुनाले युवाका नाताले मैले उम्मेदवारी दिन चाहेको हुँ ।’ भारतको बेङ्लोरबाट एमबीए गरेका ३८ वर्षे खान लुम्बिनी युवाहरूमाझ चर्चित छन् ।
लुम्बिनीको राम्ररी ब्रान्डिङ गर्नमात्र सकियो भने हातहातमा अवसर रहेको उनको भनाइ थियो । ‘यही अवसर सदुपयोग गर्ने मसँग धेरै नवप्रवर्तन र उद्यमशिलताका योजना, सीप र ज्ञान छन्,’ उनले भने, ‘त्यसैले यही कार्यक्रममार्फत राइट पर्सन राइट प्लेसका योजना अघि सारेर युवालाई स्वरोजगार बनाउन लाग्छु ।’
दिल्ली विश्वविद्यालयबाट अर्थशास्त्रमा ग्र्याजुएसन गरेका खान कार्बन क्रेडिट र डेटा माइनिङका बारेमा जानकार छन् । त्यसैले लुम्बिनीको वातावरण प्रदूषण न्यूनीकरण र तथ्यांक विश्लेषण गरेर गर्ने कामका बारेमा युवालाई ज्ञान दिएर स्वरोजगार बनाउने योजना बनाएको उनले बताए ।
‘देशमा मौलाउँदै गएको नातावाद, कृपावाद, विभेद र कुशासन अन्त्यका लागि गत भदौमा युवा उभार सडकमा उर्लिएको थियो,’ उनले भने, ‘त्यसैले देशका लागि अब युवा जमात स्वयं तात्ने मात्रै नभई जाग्ने र अग्रसरता लिने बेला भएको हुँदा मैले पनि अग्रसरता लिएको हुँ ।’
युवाको भूमिका निर्वाचनमा भाग लिनेमा मात्र नभई निर्वाचनअघि, पछि र मतदानका दौरानमा सक्रिय भूमिका खेल्ने पनि रहेको उनले बताए । ‘किनकि, युवा आफैंमा लोकतन्त्रको संवाहक शक्ति हो,’ उनले भने, ‘कुनै पनि मुलुकको लोकतन्त्र कत्तिको बलियो छ भन्नका लागि त्यस मुलुकको आवधिक निर्वाचनमा युवाले खेलेको भूमिकामा निर्भर रहन्छ ।’ यसका लागि लुम्बिनी आसपासका युवा सबै तयार भई भिजन, मिसन स्पष्ट भएको आफूजस्तो युवा नेतृत्व छान्न पछि पर्नु नहुने उनले बताए । आफूलाई काम गरेर देखाउने अवसर दिन पनि उनले आग्रह गरे ।
