उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा एकीकरण भएसँगै पार्टी कार्यसमितिमा नरहने बताएका कँडेल चुनावी प्रतिस्पर्धामा पनि उत्रने भएका हुन् ।
काठमाडौँ — युवा व्यवसायी विजय कँडेलले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नवलपरासी (सुस्ता पश्चिम) क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।
उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा एकीकरण भएसँगै पार्टी कार्यसमितिमा नरहने बताएका कँडेल चुनावी प्रतिस्पर्धामा पनि उत्रने भएका हुन् । सुस्ता-३ नवलपरासीका स्थायी बासिन्दा कँडेल उज्यालो नेपाल पार्टीका संस्थापक केन्द्रीय सदस्य हुन् । उम्मेदवारी घोषणा गर्दै कँडेल देशको अर्थतन्त्र र कूटनीति लगायतका विषयमा सुधारका लागि आफू चुनावी मैदानमा उत्रने निर्णय लिएको बताउँछन् ।
'विगतमा निर्वाचित नेताहरुले जनताको प्रतिनिधि भएको बिर्सेर व्यक्तिगत स्वार्थमा लागेका कारण देश र जनताले दुःख पाए । त्यसैले हामीजस्ता व्यक्तिहरु राजनीतिमा होमिन बाध्य भएका हौँ,' कँडेल भन्छन् ।
कँडेल केही वर्षको अस्ट्रेलिया बसाइपछि स्वदेश फर्किएका हुन् । नेपाल फर्केलगत्तै व्यवसाय सुरु गरेका कँडेलका हाल काठमाडौं र चितवनमा गरी आधा दर्जन 'हाइजेनिक मिट सेन्टर' व्यवसाय संचालनमा छन् । यसबाहेक उनी एचएम्सी फुड्स, हाइजेनिक एग्रो टुरिजम फार्म, होटल रेस्टुरेन्ट लगायतका व्यवसायमा संलग्न छन् ।
यसअघि उनले काठमाडौंलाई धुलोरहित बनाउन 'जाग्यो नेपाल' अभियानको नेतृत्व गरेका थिए । २०७९ को चुनावमा कँडेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनावी प्रतिस्पर्धा गरेका थिए ।
