दुर्घटना न्यूनीकरणका लागि ‘चालकसँग तीन मिनेट’ अभियान

चालकलाई ट्राफिक संकेत, गति सीमा, मदिरा सेवनपछि सवारी नचलाउन, हेल्मेट र सिटबेल्टको अनिवार्य प्रयोगलगायतका विषयमा जानकारी गराइने

पुस २२, २०८२

माधव अर्याल

'Three Minutes with Drivers' campaign to reduce accidents

What you should know

पाल्पा — पाल्पामा दुर्घटना न्यूनीकरणका लागि ‘चालकसँग तीन मिनेट’ अभियान सुरु भएको छ । बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालयले अभियान सुरु गर्न लागेको हो ।

राजमार्ग तथा भित्री सडकमा यो कार्यक्रम जिल्ला प्रहरी र ट्राफिक प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सुरु गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख खेमानन्द पंगेनीले बताए । 

तानसेन बसपार्कबाट सुरु अभियानअन्तर्गत सार्वजनिक सवारी साधन, कार, मोटरसाइकल, स्कुटर चालकलाई ट्राफिक शिक्षा दिइनेछ । प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले सचेतना कार्यक्रम जिल्लामा सञ्चालन गरेको हो । चालकलाई ट्राफिक संकेत, गति सीमा, मदिरा सेवनपछि सवारी नचलाउन, हेल्मेट र सिटबेल्टको अनिवार्य प्रयोगलगायतका विषयमा जानकारी गराइने जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दीपेन्द्र पन्जियार थारूले बताए । ‘चालकको सजगता र जिम्मेवार व्यवहारले दुर्घटनाको जोखिम कम हुन्छ,’ उनले भने, ‘तीव्र गतिमा सवारी नचलाउने, मोबाइल प्रयोग नगर्ने, मदिरा सेवनपछि सवारी नचलाउने, ओभरटेकिङजस्ता जोखिमपूर्ण व्यवहार गर्न नहुने लगायतका विषयमा सचेत गराइने छ ।’ 

सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले सडक दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी र व्यवहारिक उपाय हुने बताए । ‘छोटो समयमै दिइने यस्तो सचेतनाले चालकको ध्यान नियमप्रति केन्द्रित हुनेछ,’ उनले भने, ‘सवारी सञ्चालनका क्रममा लापरबाही घटाउन यसले मद्दत पुग्नेछ ।’ प्रहरी नायब उपरीक्षक होमप्रसाद चौधरीले सवारी चलाउँदा जहिलेसुकै ट्राफिक नियम र संकेतको पालना गर्नुपर्नेमा जोड दिए । ‘हेल्मेट, सिटबेल्टजस्ता सुरक्षा उपकरणको अनिवार्य प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘आफनो सवारी साधनको नियमित प्राविधिक जाँच गरी ब्रेक, बत्ती र टायरको अवस्था ठीक राख्नुपर्छ ।’

अभियान सुरुवात कार्यक्रममा चालक, सामुदायिक सेवा केन्द्र, विभिन्न यातायात व्यवसायी आबद्ध समितिका कर्मचारी तथा पदाधिकारीको सहभागिता रहेको थियो ।  

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully