‘सिकारी चरा अवलोकनका लागि लुम्बिनी विश्वकै उत्कृष्ट स्थल हो,’ नेपाल पन्छीविद् संघका अध्यक्ष हठन चौधरीले भने, ‘बर्ड फेयरमा आउने विदेशी टूर अपरेटरले यहाँको आकर्षण बाहिर लैजाँदा यसको महत्त्व विश्वव्यापी रूपमा उजागर हुनेछ ।’
What you should know
लुम्बिनी — बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो नेपाल बर्ड फेयर हुने भएको छ । लुम्बिनीको आध्यात्मिक पर्यटनसँगै चरा र पर्यापर्यटनको आकर्षण उजागर गर्ने उद्देश्यले पोखरा पन्छी समाजद्वारा माघ १२ र १३ गते बर्ड फेयर आयोजना गर्न लागिएको हो ।
समाजद्वारा मंगलबार लुम्बिनीमा आयोजित पत्रकार सम्मेलनमा चरा प्रजाति, जैविक विविधता र चराका महत्त्वपूर्ण वासस्थानको संरक्षणका लागि सचेतना जगाउन कार्यक्रम आयोजना गरिएको बताइएको थियो । त्यस्तै स्थानीय समुदाय, विद्यार्थी, गाइड, अनुसन्धानकर्ता र संरक्षणसँग सम्बन्धित संघ संस्थाबीच ज्ञान आदानप्रदान, सहकार्य र नेटवर्किङ गरेर चरा पर्यटनसँगै पर्यापर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले फेयर आयोजना गरिएको पोखरा पंछी समाजका अध्यक्ष तथा नेपाल बर्ड फेयर आयोजक कमिटीका संयोजक मनशान्त घिमिरेले बताए ।
घिमिरेका अनुसार कार्यक्रमअन्तर्गत विभिन्न ७ विषयमा बर्ड सिम्पोजियम (सम्मेलन), २५ देखि ३० विद्यालयका विद्यार्थीलाई चराको महत्त्व बताउने तथा स्थानीय ३० जना गाइडलाई चरा पहिचानसम्बन्धी तालिम दिने कार्यक्रम रहेको छ । त्यस्तै चरा फोटो प्रदर्शनी र बर्ड रेस (चरा चिन्ने) प्रतियोगिता पनि गरिनेछ ।
कार्यक्रममा मुलुकभरका पन्छीविद्, अनुसन्धानकर्ता र संरक्षणकर्मी सहभागी हुने छन् । त्यस्तै भारत, भुटान, श्रीलंका, फिलिपिन्स, सिंगापुर, हङकङ र ताइवानबाट चरा संरक्षणमा क्रियाशील संघसंस्था र टुर अपरेटर लिडरको पनि सहभागिता हुने बताइएको छ ।
बर्ड फेयरमा बिटूबी कार्यक्रम पनि गरिनेछ । कार्यक्रमले लुम्बिनी शान्ति र आध्यात्मिक पर्यटनको केन्द्रमात्र नभएर चरा पर्यटनका लागि पनि मुलुककै उत्कृष्ट स्थल भएको उजागर गर्ने नेपाल पन्छीविद् संघका अध्यक्ष हठन चौधरीले बताए । ‘सिकारी चरा अवलोकनका लागि त लुम्बिनी विश्वकै उत्कृष्ट स्थल हो,’ उनले भने, ‘बर्ड फेयरमा आउने विदेशी टूर अपरेटरले यहाँका आकर्षण बाहिर लगेर आइटनरी बनाउँदा त्यसको महत्त्व विश्वव्यापी रूपमा उजागर हुन्छ ।’
बर्ड फेयर लुम्बिनीको पर्यटन विकासका लागि कोसेढुंगा साबित हुने ग्रिन युथ अफ लुम्बिनीका अध्यक्ष अर्जुन कुर्मीले बताए । कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजन र लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठले यस्ता कार्यक्रमले यहाँको पर्यापर्यटकीय सुन्दरता स्वदेशमा मात्र नभएर विदेशमा पनि राम्ररी उजागर हुने हुँदा सबैले सहयोग गरेर सफल बनाउनु पर्ने कुरामा जोड दिएका थिए ।
यसअघि पोखरा र नवलपुरमा पहिलो र दोस्रो बर्ड फेयर भएको थियो ।
