पश्चिम नवलपरासीका दुई चिनी मिल मात्र सञ्चालन

किसानले अहिले धमाधम उखु काट्ने र पायक पर्ने स्थानको चिनी उद्योग र भेली बनाउने क्रसरमा बेचिरहेका छन्।

पुस २२, २०८२

नवीन पौडेल

Only two sugar mills in West Nawalparasi are operational

परासी — पश्चिम नवलपरासीमा रहेका चार वटा चिनी मिल मध्ये यस वर्ष दुई वटा मात्र सञ्चालनमा आएका छन्।

यस वर्ष सुनवलस्थित लुम्बिनी सुगर मिल र बागमती सुगर मिल मात्र सञ्चालनमा आएका हुन्।

गत वर्ष सञ्चालन भएको इन्दिरा सुगर मिल भने अहिलेसम्म संचालनमा आएको छैन। यो मिलले किसानको बक्यौता रकम समेत तिर्न बाँकी रहेको छ। मोहिनी चिनी उद्योग पनि केही वर्षदेखि सञ्चालनमा छैन।

यस वर्ष सरकारले उखुको न्यूनतम समर्थन मूल्य ६ सय २० र अनुदानप्रति क्विन्टल ३५ रुपैयाँ तोकेको छ । सरकारले किसानलाई अघिल्लो वर्षको भुक्तानी गर्न बाँकी अनुदान वाफतको ३५ रुपैयाँ पनि यसै वर्ष थपेर दिने छ। 

यस वर्ष नवलपरासीमा १२ लाख क्विन्टलसम्म उखु उत्पादन हुने अनुमान छ। लुम्बिनी चिनी मिल सुनवलमा धमाधम उखु क्रसिङको काम भइरहेको मिलका प्रबन्धक टेक पुनले बताए। 

किसानले अहिले धमाधम उखु काट्ने र पायक पर्ने स्थानको चिनी उद्योग र भेली बनाउने क्रसरमा बेचिरहेका छन्। क्रसरले तत्कालै नगद रकम दिने हुँदा किसानले बजार मूल्य भन्दा केही सस्तोमा उखु खरिद गर्दै आएका छन्। चिनी मिलले भने उखुको तौल गरेर पुर्जी बनाउने र सोही अनुसार केही समय पछि मात्र भुक्तानी गर्ने गर्छन् । 

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully