बाढी, पहिरो, भूकम्पजस्ता विपद्मा विद्यार्थीलाई ज्ञान दिन जिल्लाकै नमुना सिकाइ केन्द्रका रूपमा पद्म पब्लिक माविलाई विकास गर्न स्रोत केन्द्र स्थापना गरिएको हो ।
What you should know
पाल्पा — तानसेन नगरपालिकाले विद्यालयमा आधारित विपद् जोखिम न्यूनीकरण स्रोत केन्द्र तानसेनस्थित पद्म पब्लिक नमुना माध्यमिक विद्यालयमा स्थापना गरेको छ ।
बाढी, पहिरो, भूकम्पजस्ता विपद्मा विद्यार्थीलाई ज्ञान दिन जिल्लाकै नमुना सिकाइ केन्द्रका रूपमा पद्म पब्लिक माविलाई विकास गर्न स्रोत केन्द्र स्थापना गरिएको हो ।
तानसेन नगरपालिकाभित्रका सबै विद्यालयले सिक्ने र सिकाउन सकिने गरी केन्द्र निर्माण गरिने तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । विद्यालयमा सिकेको ज्ञान हस्तान्तरण गर्ने गरी विद्यार्थी आफैं, घरपरिवार र समुदायलाई शिक्षा दिन सकियोस् भनेर विपद्का लागि हातेमालो गर्न स्रोत केन्द्र स्थापना गरिएको उनले बताए ।
नगर उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले नेपालकै पहिलो अवधारणाअनुसार स्रोत केन्द्र स्थापना गरिएको बताइन् । उनले स्थानीय सरकारको अग्रसरता र अपनत्वमा प्रदेश तथा संघीय सरकारसँग सहकार्य गरिने बताइन् । पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले जिल्ला विपद् व्यवस्थापन समितिले पाल्पामा विपद्जन्य कार्यका लागि योजना बनाएर काम गर्दै आएको बताए ।
विपद् जोखिम न्यूनीकरण स्रोत केन्द्र स्थापनाका लागि नगरभित्रका विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिका पदाधिकारी साथै सरोकारवालाहरुलाई अनुशिक्षण गरिएको नगरप्रमुख श्रेष्ठले बताए । विपद् जोखिम न्यूनीकरण स्रोत केन्द्रको सहजीकरण गर्दै विपद् विज्ञ दीपक मरहट्टाले विपद् पूर्वतयारी, उद्धार तथा राहत,अनुकूलन र पुनर्निर्माण तथा पुन:;स्थापनाका बारेमा जानकारी गराए ।
संघीय, प्रदेश सरकारका साथै दातृ निकाय तथा अन्य साझेदार निकायसँग श्रोत केन्द्र व्यवस्थापनका लागि सहकार्य गरिने तानसेन नगरपालिकाका कार्यक्रम फोकल पर्सन विष्णुप्रसाद पौडेलले बताए । तानसेन नगरपालिकाले पद्य पब्लिक माविमा विपद् पूर्वतयारीका लागि स्रोत केन्द्र स्थापना गर्दा सबै विद्यालयलाई फाइदा पुग्ने प्रधानाध्यापक सन्तवीर बरालले बताए ।
कार्यक्रममा तानसेन नगरभित्रका ३१ माध्यमिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षहरूको सहभागिता रहेको थियो ।
