हुस्सुले ढाकेको नेपालगन्ज बजारको सडक छेउमा कामको खोजीमा लाइन बस्नेहरूलाई दुई किसिमको चिन्ता हुन्छ– मजदुरी नपाइए बेलुकी रित्ताे हात फर्कँनुपर्ने र काम पाए चिसाेले कसरी गर्ने ?
नेपालगन्ज — हरेक बिहान नेपालगन्ज बजारको सडक छेउमा मजदुरी खोज्दै उभिएकाहरूको लाइन हुन्छ।
हुस्सुले ढाकिएको सडक छेउमा कामको खोजीमा लाइन बस्नेहरूलाई दुई किसिमको चिन्ता भइरहेको हुन्छ– काम नपाइए बेलुकी रित्ताे हात फर्कँनुपर्ने र पाइहाले चिसाेले कसरी गर्ने ?
हुस्सु र शीतलहरले अत्यधिक चिसो भएपछि यति बेला निर्माण र खेतीपातीको काम पाउन मुस्किल हुन्छ । पाइहाले पनि जीउ काप्ने जाडोले काम गर्नै मुस्किल हुने गरेको छ।
बाँके बैजनाथका ४५ वर्षीय रामबहादुर चौधरी दैनिक मजदुरी गर्छन्। जाडो बढेसँगै काम झन् कम भएको उनी बताउँछन्। ‘जाडोमा निर्माणको काम पनि कम हुन्छ, खेतबारीको काम पनि हुँदैन,’ उनी भन्छन्, ‘काम नपाए पेट पाल्न समस्या, पाए पनि चिसोले शरीर काम्न थाल्छ । हप्तामा पाँच दिन काम गर्यो दुई दिन थला परिन्छ ।’
निर्माणका काममा मजदुरी गर्ने कोहलपुरकी मिना थारुलाई पनि जाडोले काममा जानै समस्या हुने गरेको छ। भन्छिन्, ‘चिसोमा काम गर्दा ज्वरो आउँछ, कि खोकी लाग्छ, तर औषधि किन्न पैसा हुँदैन, काम नगरे खान पाइँदैन ।’
दैनिक ज्यालामा निर्भर मजदुरका लागि जाडोको सिजनमा चुलो बाल्नै कठिन हुने गरेको छ । ‘बिहान काम नपाइएला कि भन्ने डर, बेलुका खाली हात फर्कनुपर्ला भन्ने चिन्ता यी सबैले रात झन् चिसो बनाइदिन्छ,’ मिनाले भनिन्।
पुस लागेयता घाम नलागेका कारण बढेको चिसोले विपन्न तथा मजदुरलाई बढी प्रभाव पारेको छ । शीतलहर र चिसोबाट सबैभन्दा बालबालिका र बृद्धबृद्धासँगै रिक्सा, ठेला चालक र दैनिक ज्यालामजदुरी गर्नेहरु बढी प्रभावित भएका छन्।
दुई सातायता बाँकेमा शीतलहर र हुस्सुका कारण चिसो अत्यधिक बढेको छ। शीतलहरले गर्दा चिसो धेरै बढेपछि यस क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ। चिसो अत्यधिक बढेका कारण बिहान र बेलुकी सडकमा सवारीसाधन र मानिसको आवागमन निकै कम देखिएको छ। सरकारी कार्यालयमा सेवाग्राही र विद्यालयहरूमा बालबालिकाको उपस्थिति पनि न्यून छ।
चिसो बढेका कारण नेपालगन्जका प्रमुख बजार त्रिभुवन चोक, सदर लाइन, घरबारी टोल, वीपी चोक, वीरेन्द्र चोक र पुष्पलाल चोक क्षेत्रमा चहलपहल घटेको छ। शीतलहर चलेर चिसो बढेपछि बजारमा मानिसको आवागमन घटेको व्यवसायी नन्दलाल वैश्यले बताए।
नेपालगन्ज उपमहानगरपालिकाले चिसोबाट जोगाउन दाउरा वितरण सुरु गरेको छ । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माका अनुसार मजदुरहरुलाई ध्यानमा राख्दै चोक चोकमा दाउरा बालेर आगो ताप्ने व्यवस्था गरिएको छ। ‘कामका लागि बिहान निस्कने मजदुरलाई चोक चोकमा आगो बालेर एक छिन भए पनि राहत होस् भन्ने उद्देश्य हो,’ उनले भने, ‘त्यसका लागि उपमहानगरले नगरभित्र दाउरा बाँडिरहेको छ।’
जिल्ला विपद् व्यवस्थापन समितिले चिसो तथा शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजनालाई अद्यावधिक गर्दै सोही अनुसार काम गरिरहेको जनाएको छ । समितिको प्रक्षेपण अनुसार यस वर्ष बाँकेमा ३६ हजार परिवारका करिब १ लाख ७६ हजार जना चिसो र शीतलहरबाट प्रभावित हुन सक्ने देखिएको छ।
केही दिनदेखि नेपालगन्जको तापक्रम पनि घट्दै गएको छ । पछिल्ला दिनमा यहाँको तापक्रम घटेर ९ देखि १३ डिग्री सेल्सियस पुगेको नेपालगन्ज विमानस्थल कार्यालयले जनाएको छ।
