ज्ञवाली निर्वाचन क्षेत्र नं. १ बाट र विष्ट क्षेत्र नं. २ बाट निरन्तर चुनाव लड्दै आएका छन् ।
What you should know
बुटवल — नेकपा एमालेले गुल्मीबाट पार्टीका उपाध्यक्ष गोकर्ण विष्ट र नेता प्रदीप ज्ञवालीको नाम छुट्टाछुट्टै निर्वाचनबाट एकल रूपमा सिफारिस गरेको छ ।
एमालेको आइतबार सम्पन्न क्षेत्रीय समितिको बैठकले गुल्मी क्षेत्र नं २ बाट उपाध्यक्ष गोकर्ण विष्टको एकल नाम सिफारिस गरेको हो । यसअघि ज्ञवालीको नाम क्षेत्र नं १ को क्षेत्रीय कमिटीले सर्वसम्मत रूपमा छनोट गरेर पठाएको थियो । क्षेत्र नं १ बाट ज्ञवालीको नाम मात्र प्रस्ताव भएको थियो । तर, क्षेत्र नं २ बाट आकांक्षी धेरै भए पनि क्षेत्रीय कमिटीले विष्टको नाम एकल सिफारिस गर्ने निर्णय गरेको हो ।
क्षेत्र नं २ मा उम्मेदवारका लागि उपाध्यक्ष विष्टसहित रामकुमारी झाँक्री, राजेन्द्र अर्यालसहित ६ जना आकांक्षीको नाममा छलफल भएको थियो । तर, क्षेत्रीय संयोजक रितबहादुर थापाले जितका लागि विष्ट नै लोकप्रिय उम्मेदवार देखिएकाले एकल सिफारिस गरिएको बताए ।
‘चर्चामा र आकांक्षीमा धेरै नाम भए पनि जित्ने उम्मदवार विष्ट मात्र हो,’ उनले भने, ‘त्यसैले क्षेत्रीय कमिटीमा प्राप्त दुईतिहाइभन्दा बढी सुझावका आधारमा उहाँको नाम एकल सिफारिस गरिएको हो ।’
गुल्मी–२ मा २०५६ देखिका संसदीय निर्वाचनमध्ये २०६४ बाहेक सबै चुनाव विष्टले जित्दै आएका छन् । २०६४ मा माओवादीले जितेको थियो । गत २०७९ को निर्वाचनमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार बनेकी रामकुमारी झाँक्रीलाई पनि विष्टले पराजित गरेका थिए ।
समाजवादी छाडेर एमाले रोजेकी झाँक्रीले पनि गुल्मी–२ बाटै चुनाव लड्ने आकांक्षा राख्दै आएकी थिइन् । तर, विष्टको एकल नाम सिफारिस भएपछि झाँक्रीलाई अप्ठ्यारो परेको छ ।
