कारको ठक्करबाट बुटवलमा ट्राफिक प्रहरीको मृत्यु

ठक्कर दिने कार र चालक प्रहरी नियन्त्रणमा ।

पुस २१, २०८२

घनश्याम गौतम

Traffic policeman dies in Butwal after being hit by car

बुटवल — कारको ठक्करबाट बुटवलमा चेकजाँचमा खटिएका ट्राफिक प्रहरीको मृत्यु भएको छ । 

पश्चिम नवलपरासीबाट बुटवलतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१–००३ च ००७७ नम्बरको कारले बुटवल रामनगरस्थित पूर्व-पश्चिम राजमार्गको धागो कारखानानजिकै चेकजाँच खटिएका ट्राफिक प्रहरी सहायक हवल्दार नागेश्वर पाललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

तीव्र गतिमा आएको कारले नियमित चेकजाँचमा खटिएका दुई ट्राफिक प्रहरीमध्ये पाललाई मध्य सडकमै ठक्कर दिएको हो । तत्कालै उनलाई लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइए पनि चिकित्कसले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाले बताए ।

घटनापछि चालक रेसुंगा नगरपालिका–२ तम्घास गुल्मीका ५६ वर्षीय जितेन्द्रसिंह थापा र गाडी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटना कारको तीव्र गतिका कारण भएको र थप अनुसन्धान भइरहेको पनि डीएसपी रानाले बताए ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully