नेसंवि उपकुलपतिमाथि दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६, सुन्दरनगर टोलका ३९ वर्षीय शेरबहादुर परियार रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहले बताए ।

पुस २१, २०८२

दुर्गालाल केसी

One arrested for abusing NESMB Vice Chancellor

दाङ — नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६, सुन्दरनगर टोलका ३९ वर्षीय शेरबहादुर परियार रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहले बताए ।

परियारलाई पुस १८ गते घोराही उपमहानगरपालिका–१, सिमलताराबाट पक्राउ गरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेको उनले जानकारी दिए ।

पुस ६ गते बिहान तुलसीपुर–१८, बेलझुण्डीस्थित उपकुलपतिको निवासमा प्रवेश गरी केही व्यक्तिले नेपाललाई मोसो दल्नुका साथै कुटपिट गरेका थिए । उनीहरूले विश्वविद्यालयका सामान्य प्रशासन शाखा प्रमुख खिमबहादुर केसी र नेपालका स्वकीय सचिव चोलेन्द्र रिजाललाई पनि कुटपिट गरेका थिए ।

दुर्व्यवहारका क्रममा उनीहरूले नेकपा बहुमत जिन्दावाद र अखिल क्रान्तिकारी जिन्दावाद भन्ने नारा लगाएका थिए । अनेरास्ववियू (क्रान्तिकारी) लुम्बिनी प्रदेश समितिले घटनाको जिम्मेवारी लिएको थियो ।

क्रान्तिकारीका लुम्बिनी प्रदेश इञ्चार्ज प्रेम प्रशान्त बोहराले प्रेस विज्ञप्ति जारी गरी घटनाको जिम्मेवारी लिएका थिए । विज्ञप्तिमा भ्रष्टाचार र अनियमिततासम्बन्धी विभिन्न आठवटा आरोप लगाउँदै कारबाहीको जिम्मेवारी लिएको थियो । 

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully