दाङमा श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

हत्या आरोपी सुमनलाई दाङ जिल्ला अदालतबाट सोमबार सात दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको डीएसपी शाहले बताए ।

पुस २१, २०८२

दुर्गालाल केसी

Husband arrested for murdering wife in Dang

दाङ — आपसी विवादका क्रममा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा तुलसीपुरमा एक युवक पक्राउ परेका छन् । शान्तिनगर गाउँपालिका–२ केराघारीका २१ वर्षीय सुमन आले मगरलाई १७ वर्षीया श्रीमती खिमी परियारको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

गत पुस १२ गते बिहान तुलसीपुर उपमहानगरपालिका–५ न्युरोडस्थित रुकुमेली गेष्ट हाउसमा बसेका बेला सुमनले खिमीलाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएकी खिमीलाई उपचारका लागि पुस १३ गते नेपालगञ्जस्थित केयर सिटी हस्पिटल लगिएको थियो ।

अस्पतालमा उपचारकै क्रममा पुस १८ गते बिहान खिमीको मृत्यु भएको थियो । शव घर ल्याएर अन्त्येष्टि गर्न थालेको सूचना पाएपछि प्रहरी तत्काल घर पुगी अन्त्येष्टि रोकेको थियो । घटनापश्चात् फरार रहेका सुमनलाई १८ गते राती तुलसीपुर–५, न्यूरोडस्थित शिशिर गेष्ट हाउसमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहले बताए ।

मृतक खिमीकी आमा राममाया दमाईले पुस १९ गते आफ्नै ज्वाइँका विरुद्ध 'कर्तब्य ज्यान’ मुद्दामा किटानी जाहेरी दर्ता गराएकी थिइन् । हत्या आरोपी सुमनलाई दाङ जिल्ला अदालतबाट सोमबार सात दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको डीएसपी शाहले बताए ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully