शिविरमा योजना सम्झौता, बैंक खाता सञ्चालन, व्यवसाय दर्ता तथा नवीकरण, अपांगता परिचयपत्र वितरण, पञ्जीकरण सेवा, ज्येष्ठ नागरिक सम्मान तथा परिचयपत्र वितरण
What you should know
पाल्पा — पाल्पाको पूर्वखोला गाउँपालिकामा ६ दिन चलेको एकीकृत घुम्ती सेवा शिविरबाट ५ हजार ४ सय ३ नागरिकले घरदैलोमै सेवा पाएका छन् । भौगोलिक विकटताका कारण सेवा लिन नपाएका नागरिकलाई सेवा प्रदान गर्न गाउँपालिकाले सिलुवा, वीरकोट, हेक्लाङ, देवीनगर, जल्पा, रिङ्नेरहमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरेको हो ।
शिविरमा योजना सम्झौता, बैंक खाता सञ्चालन, व्यवसाय दर्ता तथा नवीकरण, अपांगता परिचयपत्र वितरण, पञ्जीकरण सेवा, ज्येष्ठ नागरिक सम्मान तथा परिचयपत्र वितरण गरिएको सूचना अधिकारी मोहन ढकालले बताए ।
विद्यार्थीलाई छात्रवृत्ति वितरणका साथै निःशुल्क स्वास्थ्य जाँच, पाठेघरको मुखको क्यान्सरको जाँच, परिवार योजना सेवा, पशुपन्छी सेवा तथा औषधि वितरण, कृषि सेवा माटो परीक्षण, वैदेशिक रोजगार, नापी तथा घरजग्गा सेवा, नक्सापास तथा अभिलेखिकरणसम्बन्धी अभिमुखीकरण, शैक्षिक छात्रवृत्ति वितरण जस्ता एकीकृत घुम्ती सेवा शिविरमा प्रदान गरिएको उनले बताए ।
शिविरमा गाउँपालिकाले प्रदान गर्ने सबै प्रकारका सेवा वडा कार्यालयबाट प्रदान गरिएको पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए । शिविरमा सबै रोगहरूको जाँच गरिएको थियो । उनीहरूलाई उपचार, परामर्श र प्रेषण स्वास्थ्य सेवा दिइएको र यसबाट ४ सय ४७ जनाले सेवा लिएका छन् ।
प्रजनन रुग्णता स्वास्थ्य शिविरसमेत सोही अवसरमा सञ्चालन गरिएको छ । ३ सय ९५ जनाको एचपीभी/डीएनए विधिबाट स्वाब कलेक्सन गरिएको छ । १ सय ६४ जनाको पाठेघरको मुखको क्यान्सर भीआईए जाँच गरिएको छ । पाठेघर खसेकोमा रिङ प्रेसरी एक जनाको राखिएको छ । भीआईएफ पोजिटिभ ८ जना भेटिएका छन् । थर्मो ८ जना र युटेरस प्रोल्याप्स १२, इम्प्लान्ट २१ जनाको राखिएको छ ।
शिविरमा योजना सम्झौता ६५ वटा भएको छ । बैंक खाता सञ्चालन पनि ६५ वटै भएको छ । शिविरमा व्यवसाय दर्ता तथा नवीकरण १ सय ७३ वटा भएको छ । २ वटा अपांगता परिचयपत्र वितरण गरिएको छ । २ सय २२ ज्येष्ठ नागरिकलाई सम्मान तथा परिचयपत्र वितरण गरिएको सूचना अधिकारी मोहन ढकालले बताए ।
६ वटै वडाका विभिन्न विद्यालयका १ सय ३६ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । ९१ जना किसानले माटो परीक्षण गराएका छन् । ३ हजारभन्दा बढी किसानले कृषि सेवा लिएका छन् । ५ सय ८ घरधुरीका ८ हजार ८ सय ९७ वटा पशुपन्छीलाई औषधि वितरण गरिएको छ ।
शिविरमा सबै वडाका नागरिकहरूको उत्साहजन सहभागिता रहेको प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताए । स्थानीय तहका नागरिकलाई घरदैलोमै एकीकृत रूपमा सेवा दिादा सेवाग्राहीको समय, श्रम र खर्च बचत हुने उनले बताए ।
शिविरबाट भौगोलिक रूपमा दुर्गम तथा पिछडिएका समुदायका नागरिकहरूलाई सेवा लिन सहज भएको उनले बताए । गाउँपालिकाले सेवाप्रति जनचेतना अभिवृद्धि गरेको छ भने सेवाको पहुँच, प्रभावकारिताका साथै विश्वाससमेत बढाउन मद्दत गरेको गाउँपालिकाकी उपाध्यक्ष भागिरथी भट्टराईले बताइन् ।
