इलाका प्रशासन कार्यालयको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

सुशीला कार्की सरकारले देशका विभिन्न जिल्लाका ९ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गर्दा अर्घाखाँचीको शितगंगा छुटेको स्थानीयको गुनासो छ ।

पुस २०, २०८२

वीरेन्द्र केसी

Memorandum to the Home Minister demanding an Area Administration Office

अर्घाखाँची — शितगंगा नगरपालिका–३ ठाडामा इलाका प्रशासन कार्यालय स्थापना हुनुपर्ने माग गर्दै विभिन्न दलका नेतासहित स्थानीय बासिन्दाले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

नगर प्रमुख छविलाल पौडेल, जनप्रतिनिधि, पूर्वजनप्रतिनिधिलगायत सबै दलका नेताले आइतबार काठमाडौं पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।

सुशीला कार्की सरकारले देशका विभिन्न जिल्लाका ९ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गर्दा अर्घाखाँचीको शितगंगा छुटेको स्थानीयको गुनासो छ । गृहमन्त्री अर्यालले इलाका प्रशासन कार्यालय स्थापनार्थ पहल गर्ने आवश्वासन दिएको शितगंगा नगर उपप्रमुख गीता भाट क्षेत्रीले बताइन् ।

शितगंगाको सर्वदलीय र सरोकारवालाले तत्कालीन गृहमन्त्री रमेश लेखकसमक्ष पनि ज्ञापनपत्र बुझाउँदै ठाडामा इलाका प्रशासन कार्यालयको माग गरेका थिए । त्यतिबेला लेखकले पहल गर्ने विश्वास दिलाएका थिए ।  नगर प्रमुख पौडेलले भौगालिक हिसाबले विकट गाउँबाट जिल्ला सदरमुकाम सन्धिखर्क पुग्न दुई दिन लाग्ने भएकाले नागरिकको सहजताका लागि पालिका मुकाम ठाडामा इलाका प्रशासन कार्यालय स्थापना हुनुपर्ने बताए । 

‘अघिल्लो सरकारले हामीलाई आश्वासन दिएको थियो,’ उनले भने, ‘वर्तमान सरकारले ९ स्थानमा निर्णय गर्दा अर्घाखाँचीको शितगंगा छुटेको छ । त्यसका लागि सरकारलाई ध्यानाकर्षण गराउन नगरको टोली, सर्वदलीय, सर्वपक्षीयसहित गृहमन्त्रीलाई भेट्न पुगेका हौं ।’

वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully