अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्राप्त गरेपछि विद्यालयको भौतिक व्यवस्थापकीय पक्ष आकर्षक हुनुका साथै व्यवस्थित हुने अपेक्षा पनि गरिएको छ ।
What you should know
पाल्पा — रामपुरको गंगा माविलाई मानकीकरणका लागि अन्तर्राष्ट्रिय संगठन (आईएसओ) को लोगो प्रदान गरिएको छ । विद्यालय सुधारका विभिन्न ४९ सूचकमध्ये कम्तीमा २५ प्रतिशत सूचक पूरा गरेकाले आईएसओ चिह्न पाएको हो ।
ग्लोबल क्वालिटी काउन्सिल नेपालका प्रतिनिधि सुदीप शर्माले रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर ज्ञवाली, विद्यालयका प्रधानाध्यापक देवराज देवकोटा लगायतलाई आईएसओ चिह्न अंकित प्रमाणपत्र प्रदान गरेका हुन् । विद्यालय सुधारका तोकिएका सूचक समयअगावै पूरा गरेपछि तोकिएका सूचकको अनुगमन, मूल्याङ्कन तथा प्रमाणीकरण गरी प्रमाणपत्र प्रदान गर्ने गरिएको आईएसओका प्रतिनिधि शर्माले बताए ।
अन्तर्राष्ट्रिय गुणस्तरले विशेष गरी विद्यालयको व्यवस्थापन सम्बन्धमा प्रशासनिक सुधार, कक्षाकोठाको शैक्षिक गुणस्तर अभिवृद्धि, अभिभावकले विद्यार्थी शिक्षाको गुणस्तर बढाउन सहभागितालाई जोड दिएको छ । ‘विद्यार्थी, अभिभावक र शिक्षक कर्मचारीमा परिवर्तन अएकाले यो लोगो समयअगावै प्रदान गरिएको हो,’ उनले भने ।
विद्यार्थीको मूल्याङ्कन विधि, नतिजा विश्लेषण र सुधारको रणनीति वैज्ञानिक हुनुपर्ने मापदण्ड रहेको विद्यालयका प्रधानाध्यापक देवकोटाले बताए । विद्यालयले शिक्षण–सिकाइ प्रक्रिया, प्रशासनिक व्यवस्थापन, शैक्षिक गुणस्तर, सरसफाइ सुरक्षा तथा सेवा प्रवाहमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने क्रममा रहेको जनाएको छ । विद्यालयलाई निरन्तर सुधार, पारदर्शिता र गुणस्तरीय शिक्षातर्फ अग्रसर गराउने महत्त्वपूर्ण उपलब्धिका लागि अग्रसर रहेको विद्यालयका प्रधानाध्यापक देवकोटाले बताए ।
गंगा मावि, पाल्पा, रामपुर
यससँगै पूर्ण आईएसओ सर्टिफाइड विद्यालयका रूपमा घोषणा हुने बाटो खुलेको छ । अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्राप्त गरेपछि विद्यालयको भौतिक व्यवस्थापकीय पक्ष आकर्षक हुनुका साथै व्यवस्थित हुने अपेक्षा गरिएको छ । सत प्रतिशत सूचक पूरा गर्ने गरी शैक्षिक तथा भौतिक सुधारको काम अघि बढिसकेको जानकारी विद्यालयले दिएको छ । ‘आईएसओको सम्पर्क कार्यालयसमेत रामपुरमै छ,’ उनले भने, ‘यसले दैनिक विद्यालयको गतिविधि नियाल्नेछ ।’
कक्षाकोठाको भौतिक अवस्था, प्रविधि र शैक्षिक सामग्रीको उपलब्धता राम्रो हुनुपर्ने, पाठ्यक्रम कार्यान्वयन, निर्धारित पाठ्यक्रमको प्रभावकारी शिक्षण र सिकाइ प्रविधि प्रभावकारी बनाउन सहयोग गर्ने नगर प्रमुख रमणबहादुर थापाले बताए । लोगो प्राप्त गर्नु विद्यालयका लागि गौरवको विषय भएको बताउँदै नगरपालिकाले गुणस्तरीय शिक्षाका लागि जहिले पनि सहयोग गर्ने उनले बताए ।
नगर उपप्रमुख बालकुमारी थापाले शिक्षा क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरेको बताइन् । ‘आगामी दिनमा अझ उत्कृष्ट नतिजा दिने विश्वास छ,’ उनले भनिन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञवालीले आईएसओ लोगोले विद्यालयको शैक्षिक गुणस्तर अझ सुदृढ बनाउने र अभिभावक तथा समुदायको विश्वास बढाउने बताए । ‘विद्यालयलाई निरन्तर सुधार, पारदर्शिता र गुणस्तरीय शिक्षातर्फ अग्रसर गराउने महत्त्वपूर्ण उपलब्धिका लागि अग्रसर रहनेछ,’ उनले भने ।
रामपुरस्थित आधारभूत मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमलराज भट्टराईले रामपुर क्षेत्रमै उत्कृष्ट विद्यालय हुनका लागि विद्यार्थी, अभिभावक र शिक्षक कर्मचारीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने सहयोग पुग्ने बताए । रामपुरकै रामतुलसी नमुना माविका प्रधानाध्यापक बालकृष्ण लम्सालले आईएसओ लोगो प्राप्त गरेसँगै मिहिनेत गरेपछि विद्यालयको गुणस्तर सुधारका साथै भौतिक पूर्वाधारमा सहयोग पुग्ने बताए ।
वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समिति पूर्वअध्यक्ष दिनेश आचार्यले विद्यालयले शैक्षिक गुणस्तर वृद्धि गरेसँगै अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाउने बताए । सबैको मिहिनेतबाट नै अहिलेको अवस्थामा विद्यालय पुगेकाले अझ बढी मिहिनेत गर्नुपर्ने चुनौती रहेको विद्यालयका शिक्षक बद्री घिमिरेले बताए । गंगा माध्यमिक विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्यापन हुन्छ भने ६ सय ५० जना विद्यार्थी छन् । कक्षा ११ र १२ मा पशुविज्ञान विषय सञ्चालनमा छ ।
