इसान शर्माको मृत्यु गाडीको ठक्करबाट भएको प्रहरीको दाबी

‘इसानको मृत्युको घटना र घटनापछिका विवरणका आधारमा अनुसन्धान गर्दा उनको मृत्यु गाडीको ठक्करबाट भएको देखिन्छ,’ जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले भनेका छन्।

पुस १८, २०८२

दीपेन्द्र बडुवाल

Police claim that Ishan Sharma died in a car accident.

What you should know

भैरहवा — प्रहरीले रुपन्देहीको कञ्चन गाउँपालिका–३, धौलागिरि चोकका १७ वर्षीय इसान शर्माको मृत्यु गाडीको ठक्करबाट भएको दाबी गरेको छ । परिवारले भने गाडीको ठक्करबाट नभई इसानको हत्या गरिएको दाबी गर्दै आएको छ । गत पुस २ गते हत्या गरेर सडक नालीमा फ्याँकिएको भन्दै पत्रकार सम्मेलनसमेत गरेको थियो।

त्यसपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले प्रेस विज्ञप्ति जारी गरी अनुसन्धानबाट खुलेका तथ्य–विवरण सार्वजनिक गरेको हो। 

जिल्ला प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा गत पुस २ गते घर नजिकै नालीमा बेहोस अवस्थामा फेला परेका इसानलाई आफन्तले नालीबाट निकालेर बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएको र त्यहाँ चिकित्सकले मृत घोषणा गरेको उल्लेख छ ।

‘इसानको मृत्युको घटना र घटनापछिका विवरणका आधारमा अनुसन्धान गर्दा उनको मृत्यु गाडीको ठक्करबाट भएको देखिन्छ,’ जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले भनेका छन्।

कार्कीका अनुसार अनुसन्धानका क्रममा लु २ ख ४९४८ नम्बरको फोर्स गाडीले ठक्कर दिएर फरार भएको खुलेको छ । उक्त गाडीको खोजीका क्रममा बुटवल–२, मैनाबगरमा लुकाइछिपाइ मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको जानकारी प्राप्त भएको थियो ।

त्यसपछि गत पुस ७ गते प्रहरी परिचालन गरी बागलुङबाट बुटवल आउँदै गर्दा बुटवल उपमहानगरपालिका–३ स्थित गोलपार्कबाट सवारी चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । साथै अन्य दुई जनालाई चालकको घरबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय सालझण्डीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार गत पुस २ गते इसान सम्पर्कविहीन भएका थिए । खोजतलासकै क्रममा दोस्रो दिन स्थानीय धौलागिरि र सुनगाभा चोकबीच रहेको फायरलाइन–लुम्बिनी सडकखण्डको नालीमा इसान बेहोस अवस्थामा फेला परेको सूचना प्राप्त भएको थियो । प्रहरी घटनास्थलमा पुग्दासम्म उनलाई आफन्तले नालीबाट निकालेर उपचारका लागि एम्बुलेन्समार्फत लुम्बिनी प्रादेशिक अस्पताल लगिसकेको प्रहरीले जनाएको छ ।

प्रहरीले फरार चालक बागलुङको बरेङ गाउँपालिका–छिसा घर भई रुपन्देहीको कञ्चन गाउँपालिका–४, थकालीचोक बस्ने सन्तोष क्षेत्री, गाडी भगाउन सहयोग गर्ने सैनामैना नगरपालिका–५ बस्ने दीपेन्द्र भण्डारी क्षेत्री तथा सोही स्थानका सन्देश क्षेत्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

परिवारले मृत्यु शंकास्पद भएको दाबी गरे पनि घटनास्थलको सीसीटीभी फुटेजलगायतका प्रमाणको आधारमा गाडीको ठक्करबाटै मृत्यु भएको पुष्टि भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए । ‘अनुसन्धानमा हामी चुकेका छैनौं,’ उनले भने, ‘अनुसन्धानले पनि ठक्करबाट मृत्यु भएको पुष्टि गरिसकेको छ ।’

घटनास्थलबाट प्राप्त प्रमाण र प्रहरी अनुसन्धानलाई विश्वास गर्न उनले अनुरोध गरे । स्वयं गाडी चालकले समेत आफूले चलाएको गाडीले ठक्कर दिएको स्वीकार गरिसकेको उनले बताए ।

दीपेन्द्र बडुवाल

Link copied successfully