प्रतिनिधिसभा निर्वाचनः अर्घाखाँची नेकपाबाट आठ जना सिफारिस

पार्टीले समानुपातिक तर्फ आयोगलाई बुझाएको बन्दसूचीमा दलित कलष्टरबाट ठाकुरकुमार विकको नाम समावेश गरेको छ ।

पुस १८, २०८२

वीरेन्द्र केसी

House of Representatives election: Eight candidates recommended by Arghakhanchi NCP

अर्घाखाँची — फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पाटीले प्रत्यक्ष तर्फ आठ जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।

केन्द्रीय सदस्यहरु चन्द्रबहादुर खडका, रामबहादुर चौहान र मोहन गौतम रहेका छन् । त्यस्तै शोभाखर बञ्जाडे, निर्मला पोखरेल पौडेल र ४० वर्षभित्र उमेर समूहबाट विष्णु गैरे, गिरिजा खड्का र ठाकुर सौरगलाई उम्मेदवार सिफारिस गरिएको छ।  

पार्टीले समानुपातिक तर्फ आयोगलाई बुझाएको बन्दसूचीमा दलित कलष्टरबाट ठाकुरकुमार विकको नाम समावेश गरेको छ । 

माओवादी र एकीकृत समाजवादीलगायत दल बीच एकीकरणपछि बनेको नेकपाले प्रत्यक्षमा सिफारिस भएका चौहान, गौतम र पौडेल पूर्व एकीकृत समाजवादीका हुन् । चन्द्रबहादुर राष्ट्रियसभाका पूर्वसदस्य हुन् । 

अर्घाखाँचीमा माओवादीबाट २०६४, ०७० र ०७४ को चुनावमा टोपबहादुर रायमाझीले जितेका थिए। उनी उपप्रधानमन्त्रीसम्म भए । एमाले र माओवादी एकीकरणपछि बनेको तत्कालीन नेपाल कम्युनिष्ट पाटी (नेकपा) विभाजनपछि रायमाझी एमालेतिर लागेका थिए।

एक मात्र प्रतिनिधिसभा सदस्य रहेको अर्घाखाँचीमा ०७९ को निर्वाचनमा कांग्रेस, एमाले, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहितको पाँच दलीय गठबन्धन उम्मेदवार कांग्रेस नेतृ पुष्पा भुसाल गौतमलाई रायमाझीले पराजित गरेका थिए । ०७९ को निर्वाचनमा दुई प्रदेशसभामा पनि माओवादीको प्रत्यक्ष उम्मेदवार थिएन। 

तीन पटक माओवादी र चौथो पटक एमालेबाट चुनाव जितेका रायमाझी हाल नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि थुनामा छन् । केन्द्रले जसलाई छनोट गरे पनि यसपाली चुनाव जित्ने गरी लागेका केन्द्रीय सदस्य समेत रहेका नेता चौहानले बताए । 

वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully