विद्यार्थीलाई परिकार सिकाउन विद्यालयमै 'फुड फेस्टिभल'

अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीपको विकास गर्ने र किताबी ज्ञानमा मात्रै सीमित नगराउने उद्देश्यले फुड फेस्टिभल आयोजना गरिएको विद्यालयले जनाएको छ।

पुस १८, २०८२

सन्तोष महतारा

'Food Festival' at school to teach students cooking

What you should know

गुल्मी — स्टल नम्बर १ मा कक्षा ११ मा पढ्ने राेशन पाण्डेले रसवरीलगायतका परिकार बेच्न राखेका छन् ।

पाँच जनाकाे समूहमा ३५ सय रुपैयाँ लगानी गरेका उनीहरूले पाँच हजार रुपैयाँ काराेबार हुने अपेक्षा राखेका छन् ।

कक्षा ९ मा पढ्ने हिमाल पाण्डे म:म, पकाैडालगायतका परिकार तयार गरेर बेच्न बसेका छन्। उनले साँझसम्म तयार परिकार बिक्री हुने गत वर्षको व्यापार अनुभव हुने सुनाए।

कक्षा ५ मा पढ्ने सफल गाैतम आठ जनाकाे ग्रुप लिडर हुन् । उनीहरूले आफ्नो स्टलमा चाउमिन, फ्राई म:म र पकाैडा बनाएका छन् । यसबाट आम्दानीसँगै रमाइलो भइरहेकाे र सीप सिकेको उनले बताए। 'व्यवसायमा हुने दुख पनि बुझ्न पाइएको छ', उनले भने, 'पढाइसँगै स्कुलले अन्य अनुभव पनि दिलाएको छ ।'

कक्षा ७ मा अञ्जन पाण्डे कफी बनाउन किचनमा दुधमा तताइरहेका छन् । ३५ रुपैयाँ कप कफी बेच्ने उनलेे विद्यालयले यस्तो अवसर दिएकोमा द‌ंग छन् ।

सदरमुकाम तम्घासस्थित महेन्द्र नमूना माध्यमिक विद्यालयका सबै विद्यार्थी फुड फेस्टिभलमा जुटेका छन्। कतिपय विद्यार्थी किचनमा व्यस्त छन् । कतिपय तयार परिकार बेच्न बसेका छन् भने काेही ग्राहकलाई बाेलाइरहेका छन् । विद्यार्थीले तयार गरेका परिकार विद्यार्थी, शिक्षक र उपस्थित अन्यले किनिरहेका छन् ।

अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यालयमा फुड फेस्टिभल चलाइएको हो। जसका संयाेजक गिरीप्रसाद खनालले विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीपको विकास गर्ने र किताबी ज्ञानमा मात्रै सीमित नगराउने उद्देश्यले फुड फेस्टिभल आयोजना गरिएको बताए ।

उनका अनुसार विद्यार्थीकै लगानीमा उनीहरुले नै आम्दानी गर्ने गरी विद्यालयकाे व्यवस्थापनमा ४४ स्टल राखिएका छन्। जहाँ सेलराेटी, खीर, अचार, गुलाबजाबुन, पानीपुरी, चटपटे, आलु चप, थरीथरीका म:म, पकाैडा, फलफूल र ब्रेडराेललगायत खानेकुरा बनाइएको छ। फेस्टिभलमा चार सय विद्यार्थी प्रत्यक्ष सहभागी छन् ।

विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीले गत वर्ष जस्तै फुड फेस्टिभल आयोजना गरेको बताए। 'विद्यार्थीका अन्तर्निहित प्रतिभा पहिचान गर्न फुड फेस्टिभल गरिएको हो', उनले भने, 'विद्यार्थीकाे उत्साहले पनि थप हाैसला थपेको छ ।'

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पन्थीले विद्यार्थीकाे चाैतर्फी विकास लागि आयोजित गरिएको फुड फेस्टिभल सबैका लागि सिकाइ हुने बताए ।

रेसुंगा नगरपालिका उपप्रमुख अमृतादेवी कुँवरले फुड फेस्टिभलको औपचारिक शुभारम्भ गर्दै विद्यालयकाे यो कदमले विद्यार्थीलाई सिकाइ हुने बताइन्। 'विद्यार्थीकाे व्यापार शैली देख्दा यो फेस्टिभल निकै प्रभावकारी लाग्यो', उनले भनिन्, 'यस्ता कार्यक्रम विद्यार्थीको सिकाइका लागि अन्यत्र पनि हुनुपर्छ ।' महेन्द्र नमूना माविमा ११ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । याे विद्यालयले गत वर्षदेखि विद्यार्थीलाई सहभागी गराएर फुड फेस्टिभल गर्दै आएको छ। 

सन्तोष महतारा

Link copied successfully