भारतको रुपैडिया थानामा बसोबास गर्दै आएका ३५ वर्षीय इलिहास अहमदलाई प्रहरीले नेपालगन्ज उपमहानगरपालिका-४ गणेशपुरनजिकबाट नियन्त्रणमा लिएको हो।
नेपालगन्ज — लागुऔषध नियन्त्रण अभियानअन्तर्गत बाँके प्रहरीले हवाई फायर गरी एक लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
भारत उत्तर प्रदेशको बहराइच जिल्लाको रुपैडिया थानामा बसोबास गर्दै आएका ३५ वर्षीय इलिहास अहमदलाई प्रहरीले नेपालगन्ज उपमहानगरपालिका-४ गणेशपुरनजिकबाट नियन्त्रणमा लिएको हो।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा बाँकेबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
जाँच गर्न खोज्दा भाग्ने प्रयास गरेका अहमदले भाग्ने क्रममा नियन्त्रणमा लिन कठिनाइ भएपछि प्रहरीले तीन राउन्ड हवाई फायर गरी स्थितिलाई नियन्त्रणमा ल्याएको जनाएको छ।
उनलाई पक्राउ गरी तलासी लिँदा लगाएको कालो ज्याकेटको अगाडिको दाहिने खल्तीमा लुकाइराखेको अवस्थामा तीन सय ग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ ।
प्लास्टिकमा प्याक गरिएको अवस्थामा भेटिएको उक्त लागुऔषधसँगै उनको साथबाट एउटा मोबाइल फोन पनि बरामद गरिएको छ।
प्रहरीले पक्राउ परेका अहमदलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको जनाएको छ ।
