रूपन्देही उद्योग संघ बुटवलको आयोजनामा सञ्चालन भएको महोत्सवमा ८ लाख अवलोकनकर्ता आएको आयोजकको दाबी छ।
बुटवल — बुटवलमा पुस ३ गतेदेखि सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा ३० करोडको कारोबार भएको छ।
रूपन्देही उद्योग संघ बुटवलको आयोजनामा सञ्चालन भएको महोत्सवमा ८ लाख अवलोकनकर्ता आएको आयोजकको दाबी छ।
पुस ३ गतेदेखि सुरु भएको प्रदर्शनीमा स्वदेशी उद्योगबाट उत्पादित सामग्रीका ४ सय ५० वटा व्यावसायिक स्टल रहेका थिए। पूर्वलक्षित योजना अनुसार करिब ८ लाख दर्शकले अवलोकन गरेको र करिब ३० करोड रुपैयाँको कारोबार भएको संघका कोषाध्यक्ष विशाल बलेवासेले बताए ।
प्रदर्शनी समारोहमा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानीको वातावरण नबनेसम्म समृद्धिको आकांक्षा पूरा हुन नसक्ने बताए।
उद्योगी व्यवसायीको मनोबल कमजोर बनाउने काम संघीय सरकारले गरेको उनले टिप्पणी गरे । लगानीमैत्री वातावरण सिर्जना गर्नु राज्यको प्रमुख दायित्व भएकाले यसलाई सरल, सहज र विश्वासयोग्य बनाउनु पर्ने उनले बताए ।
बुटवललाई आर्थिक हबको रूपमा विकास गर्न उद्योगी व्यवसायीको योगदान आगामी दिनमा पनि निरन्तर रहने उनले विश्वास दिलाएका थिए ।
प्रदर्शनीमा उत्कृष्ट सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्नेहरु र औद्योगिक पेभेलियनमध्ये उत्कृष्ट भएका विभिन्न व्यक्तिलाई सम्मान पनि गरिएको थियो ।
