लुम्बिनीबाट एमालेका १८ समानुपातिक उम्मेदवार

दाङ र पाल्पाबाट ४ जनाको सिफारिस हुँदा रूपन्देही र प्यूठानबाट शून्य

पुस १८, २०८२

घनश्याम गौतम

18 UML proportional candidates from Lumbini

What you should know

बुटवल — एमालेले निर्वाचन आयोगमा पेस गरेको समानुपातिकतर्फको बन्दसूचीमा लुम्बिनी प्रदेशबाट १८ जना परेका छन् । तीमध्ये उपाध्यक्ष विष्णु पौडेलको जिल्ला रूपन्देहीबाट शून्य सहभागिता छ भने महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङबाट ४ जना परेका छन् । 

एमालेको बन्दसूचीअनुसार दाङ र पाल्पाबाट सबैभन्दा बढी समान ४–४ जना परेका छन् । प्यूठान र रूपन्देही जिल्लाको सहभागिता शून्य देखिएको छ । प्रदेशमा सबैभन्दा धेरै ५ वटा निर्वाचन क्षेत्र रहेको जिल्लाबाट समानुपातिका सून्य भएपछि रूपन्देहीका एमाले कार्यकर्ताले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन् । एमालेको पदाधिकारीमध्ये उपाध्यक्ष विष्णुप्रसाद पौडेल र सचिव छविलाल विश्वकर्मा रूपन्देहीकै हुन् ।

एमालेको सार्वजनिक सूचीअनुसार तीन निर्वाचन क्षेत्र रहेको दाङबाट कोमल वली, एन्जिला थापा, शान्ता चौधरी र साजिदा खातुन सिद्धिकी समानुपातिकमा परेका छन् । वली र चौधरी यसअघि पनि समानुपातिकबाटै सांसद बनिसकेका अनुहार हुन् ।

चौधरी एमालेबाट तेस्रोपटक समानुपातिक सांसदको उम्मेदवार बनेकी छन् । राप्रपा हुँदै एमालेमा आएकी पूर्वसञ्चारकर्मी तथा गायिका वली सुरुमा केन्द्रीय सदस्य र त्यसपछि राष्ट्रिय सभा सदस्य बनेकी थिइन् । एन्जिला २०६४ मा समानुपातिकबाट सांसद बनेकी थिइन् । उनी ‘सहिद’ उमेश थापाको श्रीमती हुन् । सिद्धिकी पनि पछि प्रवेश गरेकी नेतृ हुन् । उनी मुस्लिम समुदायबाट सामाजिक अभियानमा सक्रिय छन् । उनी पनि २०७९ मा पनि समानुपातिक सूचिमा थिइन्, तर सांसद बन्न सकिनन् । 

पाल्पाबाट ठानेश्वरप्रसाद बस्याल, हिरुसरा राना, ओमबहादुर घर्ती मगर र रोजी खातुन बन्दसूचीमा परेका छन् । यस्तै बाँकेबाट विजया धिताल र मोहम्मद हारुन हलवाई, रुकुम पूर्वबाट बागलाल बुढा मगर, रोल्पाबाट नवीन रोक्का मगर, नवलपरासी पश्चिमबाट रिगला यादव, अर्घाखाँचीबाट बोमबहादुर विश्वकर्मा, गुल्मीबाट जगबहादुर नेपाली, बर्दियाबाट शिवप्रसाद चौधरी, कपिलवस्तुबाट जजीरप्रसाद चौधरी र सुशीलकुमार श्रीवास्तव समानुपातिक सूचीमा परेका छन् । पार्टीले विभिन्न जातीय, क्षेत्रीय तथा सामाजिक समूहको प्रतिनिधित्व हुने गरी उम्मेदवार चयन गरिएको दावी गरेको छ । तर, प्रदेशका १२ जिल्लामध्ये प्यूठान र रूपन्देहीबाट सून्य छ । 

५ वटा निर्वाचन क्षेत्र रहेको रूपन्देहीबाट विघटित प्रतिनिधिसभामा तीन जना एमाले उम्मेदवारले जितेका थिए । एमाले रूपन्देहीबाट समानुपातिक सूचीका लागि खस–आर्यमा नन्दिकेशर ढकाल, भूमिलाल सापकोटा, बुद्धिसागर भट्टराई, महिलामा गोमा आचार्य, मधेशीमा सुनिता ठटेर, मुस्लिममा एजाज आलम, थारूमा खुसीराम चौधरी, दलितमा एकराज विश्वकर्मा र जोगलाल विश्वकर्मा, आदिवासी जनजातिबाट खेमराज गुरूङ, जनजाति महिलामा हिरामाया थापा र अपांगता भएकाबाट सावित्रा घिमिरे सिफारिस भएका थिए ।

तर, जिल्लाले पठाएका कुनै पनि नाम समानुपातिक सूचीमा नपरेको एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले बताए । ‘समानुपातिकको सूची पार्टी केन्द्रले नै बनाएको हो,’ उनले भने, ‘प्रदेश र जिल्लासँग धेरै समन्वय नै भएन् ।’ लुम्बिनीका दुई जिल्लाबाट उम्मेदवारको सहभागिता नै नहुनु दुःखद भएको उनले बताए ।

रूपन्देहीमै बस्ने नेकपा एमाले लुम्बिनी पूर्वप्रदेश कमिटी सदस्य मञ्जु भुसाल र युवा संघ पूर्वकेन्द्रीय सदस्य श्रद्धा कुँवरलगायतलाई भने रास्वपाले समानुपातिक सूचीमा राखेको छ । 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully