टायल्स उद्योगमा मजदुर मृत्यु प्रकरण : छानबिन नभएसम्म शव नउठाउने अडान

मृतकका आफन्तले घटनाबारे आफूहरूलाई समयमै खबर नगरिएको भन्दै उद्योग परिसर अगाडि विरोध प्रदर्शन गरिरहेका छन्

पुस १७, २०८२

नवीन पौडेल

Worker death case in tiles industry: No body to be exhumed until investigation is completed

What you should know

परासी — नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका-१३ का ४० वर्षीय होमबहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढ जिल्लाका ३० वर्षको विनोद कुमार बर्दघाट नगरपालिका-१२ स्थित कजारिया टायल्स उद्योगमा बुधबार राति ८ बजेदेखि बिहीबार बिहान ८ बजेसम्म काममा खटिएका थिए ।

नेपाली मजदुर थापाका ५ वर्षका छोरा र श्रीमती छन् ।  उनीहरूको काम कम्पनीको ग्यास चेम्बरमा थियो । राति ८ बजेदेखि काममा खटिएका दुई जना मजदुर आफ्नो काम सकिएपछि पनि बाहिर निस्किएनन् । पछि खोज्दै जाँदा उनीहरू मृत अवस्थामा भेटिएको सूचना प्रहरीमा पुग्यो । 

प्रहरी आएर हेर्दा 'ग्यासी फायर पोकिङ फ्लोर'मा कागजको गत्ता ओछ्याएर सुतिरहेको अवस्थामा दुई मजदुरको शव फेला पारेको थियो । 

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी निरीक्षक सुशील घिमिरेका अनुसार घटनाको विषयमा उद्योगका म्यानेजर रमेश न्यौपानेले बिहीबार बिहान ९ बजेर २० मिनेट जाँदा अस्थायी प्रहरी पोस्ट भटौलियामा सम्पर्क गरेको र त्यसपछि प्रहरी घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको थियो ।

‘घटनाबारे प्रहरीलाई थाहा पाएलगत्तै हामीले घटनाको विषयमा अनुसन्धान गरिरहेका छौँ । थप कुरा पत्ता लगाउन फरेन्सिक परीक्षण आवश्यक पर्ने हुन्छ,’ घिमिरेले भने, ‘स्थानीय आन्दोलित हुनु भएको छ । शव उठाएर आवश्यक परीक्षण छिटोभन्दा छिटो गर्न सकियो भने सहज हुने छ ।’

मृतकका आफन्तले भने घटनाबारे आफूहरूलाई समयमै खबर नगरिएको भन्दै उद्योग परिसर अगाडि विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरूले जोखिमपूर्ण काममा लगाएर 'ग्यासी फायरिङ'मा अक्सिजनको कमी भएर मृत्यु भएको भन्दै आवश्यक अनुसन्धान र दोषीलाई कारबाहीको माग गरेका छन् । 

बर्दघाट-१३ का वडाध्यक्ष नरबहादुर चौधरीले घटना के कसरी भयो भन्ने विषयमा अनुसन्धान हुनुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने, मृतकका परिवारले उचित क्षतिपूर्ति र रोजगारी पाउनुपर्ने बताए । घटनाको विषयलाई लिएर अहिले जिल्ला प्रशासन कार्यालयसहित सरोकारवालहरूको छलफल भइरहेको छ ।

छलफल निष्कर्षमा नपुगेसम्म शव नउठाउने स्थानीय र आफन्तले अडान लिएका छन् । घटनाको विषयमा उद्योग प्रशासनले भने अहिलेसम्म सार्वजनिक रूपमा केही जानकारी गराएको छैन । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully