राहत र क्षतिपूर्तिको लागेन टुंगो
परासी — पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१२ स्थित कजारिया टायल्समा मृत अवस्थामा भेटिएका २ जना मजदुरको शव पोस्टमार्टमका लागि उठाइएको छ ।
बर्दघाट नगरपालिकाको रोहबरमा पीडितको माग सम्बोधन नहुँदासम्म उद्योग बन्द गर्ने र शवको पोस्टमार्टम गर्ने, पीडितले पाउने राहत र क्षतिपूर्तिबारे उद्योगका आधिकारिक व्यक्तिको रोहबरमा वार्ता बस्ने सहमति भएको जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषनराज भण्डारीले बताए ।
बुधबार बेलुका काममा गएका नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-१३ का ४० वर्षीय होमबहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढ जिल्लाका ३० वर्षको विनोद कुमार पुस १७ गते उद्योगभित्र मृत अवस्थामा भेटिएका थिए ।
प्रहरी आएर हेर्दा 'ग्यासी फायर पोकिङ फ्लोर'मा कागजको गत्ता ओछ्याएर सुतिरहेको अवस्थामा दुई मजदुरको शव फेलापछि मृतकका आफन्तले दिनभर प्रदर्शन गरेका थिए । प्रहरी र आफन्तले पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देही लगिएको छ ।
