गुल्मीको कालीगण्डकी गाउँपालिका-५ फाेक्सिङ्ग स्थायी घरभएका कर्नबहादुर रानामगरले सन् १९१९ मा बकिङ्घम प्यालेसमा राजा जर्ज पाँचौंको हातबाट 'भिक्टोरिया क्रस' पाएका थिए।
What you should know
गुल्मी — ब्रिटिश सेनाको सबैभन्दा उच्च वीरता पदक 'भिक्टोरिया क्रस' सबैभन्दा कम उमेरमा पाउने कर्नबहादुर रानामगरको सालिक स्थापना गरिएको छ।
गुल्मीको कालीगण्डकी गाउँपालिका-५ फाेक्सिङ्ग स्थायी घरभएका रानामगरले सन् १९१९ मा बकिङ्घम प्यालेसमा राजा जर्ज पाँचौंको हातबाट उक्त वीरता पदक पाएका थिए।
भार्से भूपू संघको अगुवाइमा भार्से फाेटाे ग्यालरीकाे प्राङ्गणमा रानामगरको सालिक स्थापना गरिएको हो । मुर्तिकार यमबहादुर थापाले १५ लाख ५० हजार रुपैयाँमा उक्त सालिक बनाएका थिए। यो सालिकमा तीन सय किलो पित्तलकाे प्रयोग गरिएको छ।
सन् १८९८ मा जन्मिएका कर्नबहादुर बेलायती सेनामा भर्ती हुनासाथ तेस्रो क्विन अलेक्जेन्द्राज ओन गुरखा राइफल्सको दोस्रो बटालियनमा कार्यरत रहँदा ७५ औं इन्फेन्ट्री डिभिजन अन्तर्गतको २३२ औं इन्फेन्ट्री ब्रिगेडसहित प्यालेस्टाइन अभियानमा सहभागी हुनुपरेको थियो।
जसक्रममा १० अप्रिल १९१८ मा प्यालेस्टाइनको एल केफ्र क्षेत्रमा जर्मन सेनाविरुद्ध भएको युद्धका क्रममा भीषण गोलीबारी र बम प्रहार बीच लुईस गन प्रयोग गरी मेसिनगन तथा आक्रमण दबाउन असाधारण साहस प्रदर्शन गरेका थिए।
उक्त लडाइँमा विजयी हात परेको वीरताका लागि उनलाई २१ जुन १९१८ मा लन्डन ग्याजेटमार्फत भिक्टोरिया क्रस प्रदान गर्ने निर्णय भएको थियाे। १९ वर्षको सबैभन्दा कलिलो उमेरमा पदक पाउने कर्नबहादुर नेपालकाे नाम राख्ने पहिलो व्यक्ति रहेको भूपू सैनिक सुबेदार मेजर अनियर क्याप्टेन पिताम्बर थापाले बताए।
मुर्तिकार थापाले एउटा नेपालकाे इतिहासकाे साक्षी व्यक्तिलाई मुर्तिका रुपमा बनाउँदा असाध्यै खुसी लागेको बताए। ब्रिटिश सेनाका भूतपूर्व लेप्टिनेन्ट कुलबहादुर बुढाथोकीले सलिक निर्माणमा अगुवाइ र लागेको खर्च सबै जुटाएका थिए। उनकै अगुवाइमा भार्से फाेटाे ग्यालरी र शालिक स्थापना सम्भव भएको भार्से भूपू संघका काेषाध्यक्ष नरु बुढाथोकीले बताए।
कर्नबहादुरको २५ जुलाई १९७३ मा गुल्मीको लिटुङ भार्सेमा ७४ वर्षको उमेरमा निधन भएको थियो । हालसम्म नेपालका १३ जना बेलायती सेनाले भिक्टोरिया क्रस पदक पाएका छन्।
सत्यवती गाउँपालिका-८ का वडाध्यक्ष हाेमबहादुर रानाले सलिक निर्माणमा भूमिका खेल्ने सबै भूतपूर्व सैनिकहरूकाे प्रशंसा गरे। 'कर्नबहादुर हाम्रो गर्विलाे इतिहास हो, नाम सुनेर पनि गर्व महशुस हुन्छ,' उनले भने, 'भार्सेमा सालिक स्थापना गर्न पाउनु नै उनकाे याेगदानकाे कदर हो ।' फाेटाे ग्यालरीमा आएर आफ्ना पूर्खा चिन्ने र हेर्ने अब सबैलाई मिलेको उनले बताए ।
