कपिलवस्तुको कृष्णनगरका पाँच जनाको नाम चार दलको समानुपातिक सूचीमा

कांग्रेसले कृष्णनगरका अकिल मिया र एमालेले सुशीलकुमार श्रीवास्तवको नाम सिफारिस गरिरहँदा रास्वपाले मिर्जा रासिद वेगकाे नाम सिफारिस गरेको छ । त्यस्तै राप्रपाले पनि कृष्णनगरकै पुष्पा रजौरिया र दिनेशकुमार गुप्ताको नाम समानुपातिकको बन्द सूचीमा राखेको छ ।

पुस १७, २०८२

मनोज पौडेल

Five people from Krishnanagar, Kapilvastu, named in proportional lists of four parties

What you should know

कपिलवस्तु — प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूचीमा जिल्लाको कृष्णनगर नगरपालिकाका पाँच जनाको नाम चार ठूला दलले सिफारिस गरेका छन् ।

कांग्रेस, एमाले, रास्वपा र राप्रपाले पाँच जनाको नाम निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्द सूचीमा सिफारिस गरेका हुन् ।

कृष्णनगरबाट कांग्रेसले अकिल मियाको नाम सिफारिस गर्दा एमालेले सुशीलकुमार श्रीवास्तवको नाम सिफारिस गरेको छ । मिया तरुण दलको पूर्व केन्द्रीय सदस्य हुन् भने श्रीवास्तव एमालेका पूर्वकेन्द्रीय सदस्य हुन् । त्यस्तै रास्वपाले पनि कृष्णनगरकै मिर्जा रासिद वेगको नाम सिफारिस गरेको छ । वेग पार्टीको जनसम्पर्क विभाग केन्द्रीय सदस्य हुन् ।

वेग २०७९ मा जनता प्रगतिशील पार्टी नेपालबाट कपिलवस्तु ३ (ख)बाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेर पराजित भएका थिए । त्यसपछि रास्वपा प्रवेश गरेका हुन् । जनता प्रगतिशील पार्टी नेपालबाट प्रदेशसभा सदस्यको निर्वाचनमा प्रतिस्पर्धा गर्नुअघि वेग एमालेमा सक्रिय थिए । त्यस्तै राप्रपाले पुष्पा रजौरिया र दिनेशकुमार गुप्ताको नाम सिफारिस गरेको छ । 

दुई ठूला दल कांग्रेस र एमालेले जिल्लाबाट दुई/दुई जनाको नाम सिफारिस गरेकामा दुवै दलका कृष्णनगर  र वाणगंगा नगरपालिकाका एक/एक जना परेका छन् । वाणगंगाबाट सिफारिस हुनेमा कांग्रेसकी विमला गैरे र एमालेका जंजीरप्रसाद चौधरी रहेका छन् । गैरे महिला संघकी पूर्वकेन्द्रीय सदस्य हुन् । उनको नाम जिल्लाबाट सिफारिस भए पनि अधिकांश समय काठमाडौं बसेर राजनीति गर्छिन् । नाम सिफारिस भएकामध्ये अधिकांश युवा छन् । 

ठूला दलले एकै नगरपालिकाबाट पाँच जनाको नाम समानुपातिकको बन्द सूचीमा सिफारिस गरेपछि कृष्णनगरले यस पटक धेरै समानुपातिक प्रतिनिधिसभा सदस्य पाउने सम्भावना बढेको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाहले बताए ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully