एक दर्को पानी परे पनि बन्द हुने डहरे खाेलाले गएको वर्षायाममा थुप्रै सवारीसाधनलाई बगाएको थियो । यात्रुले कालाे लेदाेसहितकाे माटो बग्ने यो खाेलामा पुल नबन्दा पटक-पटक सास्ती खेप्नुपरेको थियो ।
What you should know
गुल्मी — डहरे खाेलामा बनेको पक्की पुलको भुक्तानी नहुँदा आवातजावत बन्द भएको छ । सत्यवती गाउँपालिका-६ स्थित डहरे खाेलामा वर्षायाममा सधैं सास्ती भएपछि पक्की पुल निर्माण भएको थियो ।
पुल निर्माण सकिएपछि पनि भुक्तानी नपाएका कारण निर्माण व्यवसायीले छेउछाउमा माटो थुपारेर आवातजावत बन्द गरेका हुन् । डहरे खाेलासहित रुद्रवेणी-वामीटक्सार खण्डमा सडक डिभिजन कार्यालय पाल्पाअन्तर्गत चार खाेलामा राजेश्वरी लुम्बिनी जेभीले निर्माणकाे काम गरेको हो ।
चार पुलको एकमुष्ट भ्याटसहित २२ करोड ३१ लाख रुपैयाँमा निर्माणकाे काम भएको सडक डिभिजन पाल्पाका सूचना अधिकारी इन्जिनियर दुर्गा गौतमले जानकारी दिए । २०८० जेठ २२ गते सम्झौता भएको उक्त पुल २०८२ साउन २२ गते सम्पन्न गर्नुपर्ने समय थियो । अन्य पुल निर्माणाधीन छन् । तर, डहरे खाेला सवारीसाधन आवतजावत गर्न मिल्ने गरी निर्माण सकिएको छ ।
डहरे खोला, गिदी खोला, भार्से खाेला र नादेवा खाेलामा पुल बन्न लागेका हुन् । डहरे खाेलामा वर्षायामकाे समयमा निकै सास्ती हुँदै आएको थियो । एक दर्को पानी परे पनि बन्द हुने डहरे खाेलाले गएको वर्षायाममा थुप्रै सवारीसाधनलाई बगाएको थियो । यात्रुले कालाे लेदाेसहितकाे माटो बग्ने यो खाेलामा पटक-पटक सास्ती खेप्नुपरेको छ ।
निर्माण व्यवसायी भागवत गिरीले रकम भुक्तानी नभएपछि आवतजावत ठप्प पारेको बताए । 'पुलमा आवतजावत गर्न त बजेट भुक्तानी पनि हुनुपर्याे,' उनले भने, 'डहरे खाेलाकै साढे तीन कराेड रुपैयाँ भुक्तानी पाएकाे छैन ।' उनले सबै पुलको एकमुष्ट हिसाब गर्दा १३ करोड रुपैयाँ भुक्तानी बाँकी रहेको बताए ।
सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर रामपुकार जयसवालले संघीय सरकारले बजेट नै नठाएका कारण भुक्तानी राेकिएकाे बताए । 'बिल आएको छ तर हामीसँग बजेट छैन,' उनले भने, 'भुक्तानी गर्न बजेट छैन, आवातजावत खुलाउन भन्न पनि अप्ठ्यारो छ ।' उनले कार्यालयसँग भएको बजेट भुक्तानी भएको तर बजेट नभएपछि समस्या भएको बताए ।
