बहुविवाह र बाल विवाहसम्बन्धी कसूरमा दोषी ठहर
पाल्पा — पाल्पाको तानसेनबाट फरार प्रतिवादी ६ वर्षपछि पक्राउ परेका छन् । ६ वर्ष ७ महिनादेखि फरार तानसेन नगरपालिका वडा नम्बर ६ का ४० वर्षीय सविन खरेललाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीको निरन्तर निगरानी र विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिए ।
पाल्पा जिल्ला अदालतको २०७६ जेठ १३ गतेको फैसला आदेशले बहुविवाह र बाल विवाहसम्बन्धी कसूरमा एक वर्ष ५ महिना ६ दिन कैद र १० हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी थियो ।
खरेललाई चितवनको भतरपुर महानगरपालिका वडा नम्बर १२ नौरङ्गेस्थित डेरा कोठामा लुकीछिपी बसेको अवस्थामा फेला पारेको हो । उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पाल्पामा ल्याएर आवश्यक कारबाहीका लागि पाल्पा जिल्ला अदालतमा पेस गरिएको सूचना अधिकारी चौधरीले जानकारी दिए ।
